समाज


बागलुङका दुबै कोरोना संक्रमित महिलाको एउटै भनाइ : अबको रिपोर्ट नेगेटिभ आउछ होला

बागलुङका दुबै कोरोना संक्रमित महिलाको एउटै भनाइ : अबको रिपोर्ट नेगेटिभ आउछ होला

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ५:४७,

धौलागिरी अस्पतालको आइसोलेसनमा उपचाररत बागलुङ नगरपालिका–४ की कोरोना संक्रमित १९ वर्षीया युवतीको चिकित्सकको प्रत्यक्ष निगरानीमा खानपिन हुन्छ। बिहान–बेलुकाको खाना अस्पताल परिसरको चमेनागृहमा बन्छ। त्यहीँबाट लगिएको खाना चिकित्सक र नर्सले खुवाउँछन्, चिया खाजाको लागि छुट्टै प्रबन्ध छ। चिया र तातोपानीका लागि वार्डमा विद्युतीय भाँडाको व्यवस्था छ।

गत चैत १५ गते कोरोना संक्रमणको पुष्टि भएपछि धौलागिरि अञ्चल अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकी उनको स्वास्थ्य अवस्था सामान्य छ। उनी नेपालकै पाँचौँ सङ्क्रमित हुन।

‘बिहान उठेर रुममा राखिदिएको खाजा र चियासँग खाएँ, निको हुँदै छु, म सञ्चै छु, बरु तपाईँहरुलाई कस्तो छ’, उनले भनिन, ‘अबको रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु होला।’

झण्डै दुईसाता पुग्न लागेको आइसोलेसन बसाईँबारे जिज्ञासा राख्दा युवतीले भनिन् ‘पछिल्लोपटक जाँच्न लगेको रिपोर्ट आएको छैन, हेरौँ के हुन्छ।’ स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको उनीहरु दुवैको परीक्षण रिपोर्ट भने पोजेटिभ नै आएको अस्पताल बताउँछ।

गत चैत २० गते कोरोना संक्रमणको पुष्टि भएकी बानपा–३ गौडाकोटकी ६५ वर्षीया महिलाको दैनिकी पनि यसरी नै बित्ने गर्छ। उहाँले पनि एउटै जवाफ दिइन्, ‘रिपोर्ट नेगेटिभ आएपछि घर जान पाउँछु कि? अरु त केही समस्या आएको छैन, खाजा–खाना ल्याइदिनुहुन्छ, खाएकी छु। आत्तिएकी छैन।’ उहाँ नेपालकै छैटौँ संक्रमित महिला हुन।

संक्रमित दुवै जनाको अवस्था सामान्य रहेको र उनीहरु आफैँमा पनि दह्रो आत्मबलका साथ आइसोलेसनमा बसेको अस्पतालका डा पोखरेलले बताए। ‘हामीले दिएको खानुभएको छ, समस्या केही छैन’, उनले भने, ‘आमाको बेला–बेलामा रक्तचाप बढ्ने गरेको छ तर कोरोनासँग सम्बन्धित ‘सिमटम’ केही पनि छैन।’

खाना, पानी र औषधि उपचारमा उनीहरुको कुनै गुनासो छैन। एक्लोपनको महसुस हुन नदिन उनीहरुलाई मोबाइल फोन प्रयोग गर्न पाउने व्यवस्था छ। अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा शैलेन्द्र बी पोखरेल भन्छन्, ‘प्रक्रियागत हिसाबले नै उनीहरुलाई अस्पतालले नतिजाको विषयमा जानकारी गराउँछ।’ चिकित्सकका अनुसार अब स्वाब लिने बेलामा मात्रै उनीहरुलाई पहिलो रिपोर्टको नतिजा जानकारी गराइने छ।

चिकित्सकले बेलाबेलामा फोनमार्फत स्वास्थ्य अवस्थाको विषयमा जानकारी लिने गरेको पोखरेलले बताए। ‘समयमा खाना र सोधपुछ हुन्छ, अरु बेला पनि केही खान मन लाग्ला भनेर बिस्कुट उहाँहरु भएकै ठाउँमा व्यवस्था गरिएको छ’, डा पोखरेल भने।

उनीहरुले खानामा आवश्यकताअनुसार शाकाहारी र मासु अण्डाको परिकारसमेत खाने गरेका छन्। आइसोलेसनमा रहेका दुवै जनाको हेरचाह र औषधोपचारका लागि अस्पतालले पालैपालो अस्पतालका ३० नर्स र चिकित्सक खटाउने गरेको छ। सबै चिकित्सक बिरामीको नजिक पुग्दा उनीहरुमा सन्तुष्टि हुने गरेको अनुभूति चिकित्सकहरु बताउँछन्।

‘उपचाररत बिरामीको अवस्था स्थिर छ, नयाँ केही भेटिएको छैन’, स्वास्थ्य कार्यालय बागलुङका प्रमुख सुरज गुरौले भने, ‘बागलुङमा आत्तिनुपर्ने अवस्था छैन, ढुक्क हुन भने मिल्दैन।’

बागलुङ नगरपालिकामा दुईजना कोरोना संक्रमित पुष्टि भएपछि नगरपालिकाले थप सतकर्ता अपनाउँदै लकडाउनको पालना गर्न नगरवासीमा अनुरोध गरेको छ। रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad