राजनीति


डब्लूएचओलाई सहयोग राेकेकाेमा राष्ट्रसंघ महासचिव र बिल गेट्सले गरे ट्रम्पको आलोचना

डब्लूएचओलाई सहयोग राेकेकाेमा राष्ट्रसंघ महासचिव र बिल गेट्सले गरे ट्रम्पको आलोचना

नेपालखबर
बैशाख ३, २०७७ बुधबार ६:९,

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) लाई अमेरिकाले अब आर्थिक सहयोग नगर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाका विरोध सुरु भएको छ।

राष्ट्र संघका महासचिव एन्टोनिओ गुट्रेस र अमेरिकी धनाढ्य तथा समाजसेवी बिल गेट्स लगायतले यतिबेला सो निर्णय गर्नु गलत भनेका छन्।

ट्रम्पले मंगलबार डब्लूएचओले कोरोना भाइरसको संकटलाई राम्रोसँग समाधान गर्न नसकेको र फैलिइरहेको कोरोना संक्रमणलाई ढाकछोप गरेको आरोप लगाउँदै तत्काललाई सहयोग रोक्का गरेको बताएका थिए।

उनले त्यसबारे समीक्षा भइरहेको बताए।

कोरोना संक्रमण संसारभर फैलिइरहेको र अमेरिकामैं ट्रम्पले यो संकटलाई सुरुमै राम्रोसँग व्यवस्थापन नगरेका कारण अमेरिकामा धेरैको ज्यान गएको आरोप लागिरहेका बेला उनको यो निर्णय आएको हो।

अमेरिकाले डब्लूएचओलाई वर्षेनी ४० करोडदेखि ५० करोड अमेरिकी डलरसम्म सहयोग प्रदान गर्दै आएको छ। उनले चीनले सो संस्थालाई जम्मा ४ करोड अमेरिकी डलर दिँदै आएको पनि बताएका थिए।

राष्ट्र संघका महासचिव गुट्रेसले कोभिड–१९ सँग जुधिरहेका बेला यस्तो निर्णय गर्नु उपयुक्त समय नभएको बताएका छन्।

‘...यो भाइरससँग लडिरहेका बेला विश्व स्वास्थ्य संगठन वा अरु कुनै मानवीय कार्य गर्ने संगठनलाई साधन स्रोत कटौति गर्ने बेला होइन,’ राष्ट्र संघका महासचिवले आफ्नो वक्तव्यमा भनेका छन्।

ट्रम्पको घोषणापछि उनले सो वक्तव्य जारी गरेका हुन्।

यसैबीच अमेरिकी धनाढ्य, समाजसेवी तथा बिल गेट्स फाउण्डेसनका संस्थापक बिल गेट्सले यस्तो स्वास्थ्य आपतकालका बेला डब्लूएचओलाई सहायता रोक्का गर्नु निकै खतरनाक कदम भनेका छन्।

डब्लूएचओको कामले अहिले कोभिड–१९ को संक्रमणलाई कम गर्दै गएको बताउँदै उनले यदि त्यो काम रोकियो भने सो संस्थालाई अरु कुनै संस्थाले त्यसलाई प्रतिस्थापन गर्न नसक्ने बताएका छन्।
‘विश्वलाई अहिले डब्लूएचओ झन् बढि चाहिएको छ,’ गेट्सले ट्विटमा लेखेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad