श्रीमती हत्या अभियोगमा जेल बसेर छुटेका व्यक्तिले धनुषामा एक किशोरीको हत्या र दुई जनामाथि खुकुरी प्रहार गरेको खुलासा भएको छ। जिल्ला प्रहरी कार्यालय धनुषाले हत्या अभियोगमा धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-९ इच्छापुरका ३५ वर्षीय रामबाबु साहलाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख एसपी नरहरि रेग्मीका अनुसार रामबाबुले धनुषाको वट्टेश्वर गाउँपालिका ५ घर भई हाल जनकपुरधमा उपमहानगरपालिका ४ स्थित डेरा बस्ने १५ वर्षकी अन्जली कुमारी यादवको हत्या गरेका थिए।
अन्जलीकी आमा ३५ वर्षकी आशा यादव र उनकी भतिजी १४ वर्षकी राधा यादव खुकुरी प्रहारबाट घाइते भएका छन्। घटना सोमबार (२०८२ साउन १२) राति साढे ११ बजेको हो। रामबाबुलाई प्रहरीले बुधबार राति नै पक्राउ गरेको पनि एसपी रेग्मीले बताए।
हत्या आरोपमा पक्राउ परेका रामबाबुले यसअघि २०७१ चैत २ गते आफ्नी जेठी श्रीमती सरीतादेवी साहको हत्या गरेका थिए। श्रीमतीको हत्याको अभियोगमा उनी ५ वर्ष कैद भुक्तान गरेर रिहा भएका थिए।
जेलबाट छुटेको केही महिनामै उनले दोस्रो विवाह गरेर गाउँमै बस्दै आएका थिए। तर पछिल्लो समय भने उनी दोस्रो श्रीमतीलाई घरमै छाडेर आशा यादवसँग जनकपुरमा डेरा बस्न थालेका थिए।
महेन्द्र बजार क्षेत्रमा भेट भएकी आशा विवाहित हुन्। श्रीमान्लाई छाडेर आशा पनि रामबाबुसँग जनकपुरमा डेरा बस्थिन्। उनीहरू दुईजना जनकपुरमा लुकिछिपी बसेको कुरा आशाका श्रीमानले थाहा पाए।
त्यसपछि उनले रामबाबु साहको घर परिवारलाई पनि जानकारी गराइदिए। यस विषयमा गाउँ समाजमा छलफल भयो।
आशाले रामबाबु साहसँग बस्ने र निजको दुई छोरा र एक छोरी श्रीमान्ले नै हेरचान गर्ने सहमती भयो। सहमती अनुसार केही रकम रामबाबु साहले आशा यादवका श्रीमानलाई दिए। आशा यादव र दिनेश यादवबीच सम्बन्धविच्छेदको कानुनी प्रकृयामा पनि अगाडि बढेको थियो। टुंगो लागि सकेको थिएन।
यता आशा र रामबाबुको भने सम्बन्ध ठिकठाकै थियो। तर दुई महिना पहिले रामबाबुले आशालाई अटो रिक्सा किनिदिए। आशालाई चलाउन र त्यसैबाट गुजारा चलाउने रामबाबुको योजना थियो।
तर आशा यादवले उक्त अटो रिक्सा आफ्नो भाइको नाममा पास गराइन्। त्यतिमात्रै भएन रामबाबुलाई थाहै नदिई उनले डेरा पनि सारिन्। त्यसपछि आशाले पुरानै श्रीमानलाई डेरा कोठामा ल्याउने गरेको रामबाबुले प्रहरीलाई सोधपुछको क्रममा बताएकी छन्। आशाले रामबाबु यादवको भने फोन पनि उठाउन छाडिन्।
आशाले रामबाबुकी श्रीमतीलाई फोन र म्यासेज गरिदिने र झगडा गराइदिने गरेको उनले बताएका छन्। यही विषयमा उनीहरूको झगडा बढ्दै गयो।
घटनाको दिन साउन १२ गते पनि रामबाबुले आशालाई धेरै पटक फोन गरेका थिए। तर उनले फोन रिसिभ गरिनन्। पटक पटक फोन गर्दा पनि उनले छोरीलाई फोन उठाउन दिइन्। रामबाबुले अन्तिम पटक भन्दै आशासँग कुरा गरे।
तर फोनमै उनीहरूको झगडा पर्यो। त्यसपछि रामबाबु घरबाट खुकुरी लिएर आशाको डेरामा पुगेको र तीन जनालाई प्रहार गरेको प्रहरीले जानकारी दिएको छ।
घाईते आशा यादव, निजकै छोरी अन्जली र भतिजी राधालाई उपचारको लागि प्रादेशिक अस्पताल जनकपुरधाम धनुषा पठाइएको थियो।
तर उपचारको क्रममा अन्जलीको राति साढे १२ बजे मृत्यु भएको हो।
आशालाई थप उपचारका लागि वीपी कोइराला धरानमा लगिएको छ। राधा उपचारपछि डिस्चार्ज भइसकेको प्रहरीले जानकारी दिएको छ। पक्राउ परेका रामबाबुलाई धनुषा प्रहरीले बिहीबार सार्वजनिक गरेको छ।
Shares

प्रतिक्रिया