अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई अप्ठेरोमा पारिदिएका छन्। उनले भारतबाट अमेरिकामा हुने आयातमा २५ प्रतिशत भन्सार महसुल लगाउने घोषणा गरेका छन्। त्यो भन्सार दर अन्य मुलुकभन्दा धेरै ज्यादा त होइन। तर, रुससँग हतियार र इन्धन किनेकोमा भारतमाथि थप जरिवाना पनि लगाउने ट्रम्पको भनाइ छ।
ट्रम्पले शुक्रबारदेखि नै यो महसुल लागू हुने बताएका छन्। तैपनि भारतमाथि लगाइने जरिवाना कति र कस्तो हुने भन्ने स्पष्ट छैन। तसर्थ यो सौदाबाजीको दाउपेच मात्र पनि हुनसक्छ। भारतीय वार्ताकारहरूले अन्तिम घडीमा दिने सहुलियतलाई आफ्नो जितको रुपमा ट्रम्पले व्याख्या गर्न सक्छन्।
तर, त्यसले मात्र मोदीको अप्ठेरो हट्ने छैन। किनकि यसलाई विपक्षीले ठूलो हतियार बनाउने छन्।
भारत र पाकिस्तानको भिडन्त अन्त्य गर्न आफूले भूमिका खेलेको दाबी ट्रम्पले गर्दै आएका छन्। त्यसका लागि आफूले व्यापार सम्झौताको उपयोग गरेको उनको भनाइ छ।
तर, ट्रम्पको यो दाबी भारतका लागि लज्जास्पदक विषय बन्दै आएको छ। किनकि भारतले लामो समयदेखि पाकिस्तानसँगको विवादमा तेस्रो पक्षको मध्यस्थतालाई अस्वीकार गर्दै आएको छ।
यसै साता विपक्षी नेता राहुल गान्धीले मोदी र उनका मन्त्रीहरूलाई संसदमा चुनौती दिए, ‘उनी (मोदी)सँग हिम्मत छ भने उनले यहाँ आएर भनून्, ‘डोनाल्ड ट्रम्प तिमी झुटा हौ।’
मोदीले संसदमा ट्रम्पको नाम नलिई कुनै पनि मुलुकले हस्तक्षेप नगरेको स्पष्टीकरण दिए।
यस्तोमा भारतले ट्रम्पलाई खुसी पार्न दिने जुनसुकै सहुलियत र चाल्ने जुनसुकै कदमलाई विपक्षीले मोदीको कमजोरीको रुपमा पेस गर्ने स्पष्ट छ।
अप्रिल २ मा ट्रम्पले भन्सार शुल्क घोषणा गरेपछि थुप्रै मुलुकहरूले त्यसलाई कम गर्न सफल भएका छन्। भियतनामले ४६ प्रतिशतबाट २० प्रतिशतमा झारेको छ भने इन्डोनेसियाले ३२ प्रतिशतबाट १९ प्रतिशतमा। ईयू र जापानले पनि सहुलियत पाएका छन्।
तर, भारतका हकमा जरिवाना ५ प्रतिशत मात्र राख्दा पनि त्यो ३० प्रतिशत पुग्ने देखिन्छ। जुन उतिबेला ट्रम्पले घोषणा गरेको २६ प्रतिशत भन्सारभन्दा पनि माथि हो।
त्यसमाथि ट्रम्पले भारतको कट्टर दुस्मन पाकिस्तानसँग सहकार्य अघि बढाउने धम्की दिन थालेका छन्। बुधबार ट्रम्पले सामाजिक सञ्जालमा भारतलाई हियाउँदै लेखेका छन्, ‘पाकिस्तान र अमेरिकाले मिलेर उनीहरूको विशाल तेल भण्डार विकासका लागि काम गर्नेछौँ... के थाहा सायद उनीहरूले कुनै दिन भारतलाई तेल पो बेच्ने छन् कि!’
पछिल्लो दशकमा विदेशनीतिलाई पश्चिमतिर ढल्काएका र अझ ट्रम्पसँग नै व्यक्तिगत सम्बन्ध विकास गरेका मोदीका लागि यो निकै ठूलो धक्का हो। ट्रम्प नेतृत्वको अमेरिकासँग सम्बन्ध जटिल बन्दै जाँदा चीनसँग सम्बन्ध सुधारको प्रयास गरिरहेको भारतको विदेशनीति द्विविधाग्रस्त देखिएको आरोप पनि कतिपयले लगाउने गरेका छन्। एजेन्सी
Shares

प्रतिक्रिया