न्याय परिषद्का प्रवक्ता एवं सहसचिव अशोककुमार क्षत्रीले करार कानुनमा विद्यावारिधिको उपाधि हासिल गरेका छन्।
क्षत्रीले नेपालको करारीय उपचारमा न्यायिक प्रवृत्ति शीर्षकमा गरेको शोधका लागि त्रिभुवन विश्वविद्यालयको कानुन संकायले विद्यावारिधिको उपाधि प्रदान गरेको हो।
उनले शोधका क्रममा नेपाली करार कानुनको ढाँचा र न्यायिक व्याख्याहरूको समीक्षा गरेका छन्। प्रचलित अभ्यासहरू पहिचान गरेका छन् र करारीय विवादहरू समाधानका विकसित प्रवृत्तिहरूको पनि विश्लेषण गरेका छन्।
सामाजिक र आर्थिक जीवनको अभिन्न अंग भएका करारहरू निजी तहमा लिपिबद्ध गरिने कानुन पनि हुन्। तर यिनको कार्यान्वयन र व्याख्यामा विवाद हुँदा अदालत पुग्छन्। करारसम्बन्धी विवादको निरूपण अदालतबाट गर्नुपर्दा सबैभन्दा प्रभावकारी उपचार के–कस्तो हुन सक्छ भन्ने प्रश्नमा क्षत्रीको शोध केन्द्रित छ।
उनका अनुसार, व्यापार र व्यवसायमा आधारित आजको समाजमा करार अनिवार्य र महत्त्वपूर्ण साधन बन्न पुगेको छ। अनि जहाँ करार हुन्छ, त्यहाँ उल्लंघन पनि हुन्छ। त्यसैले करार उल्लंघनका सम्भावित उपचारहरूका बारेमा शोधमा छलफल गरिएको छ। अनि सन्तुलित र प्रभावकारी उपायका लागि सुझावहरू छन्।
अर्घाखाँचीको गच्छेगैरा गाउँमा जन्मिएका क्षत्री २०६६ सालमा न्याय सेवामा शाखा अधिकृत (सरकारी वकिल) का रूपमा प्रवेश गरेका हुन्। त्यतिखेर उनले दोस्रो नम्बरमा नाम निकालेका थिए।
२०७१ मा उपसचिव र २०७७ सहसचिवमा खुला प्रतिस्पर्धाबाटै नाम निकाले। उपसचिवको प्रतिस्पर्धामा प्रथम भए। सहसचिवमा एक पदका लागि मात्र भएको प्रतिस्पर्धामा उनी छानिन सफल भए।
क्षत्री न्याय सेवामा एक सुधारगामी प्रशासकका रूपमा चिनिन्छन्। खासगरी विशेष अदालतको स्वरूप फेर्नमा उनले रजिस्ट्रारका हैसियतमा महत्त्वपूर्ण पहलकदमी लिएका थिए। उनकै पहल र व्यवस्थापकीय अग्रसरतामा विशेष अदालतले भवन, थप जनशक्ति, नियमावली लगायतका भौतिक तथा कानुनी पूर्वाधार विस्तार गर्न सफल भएको थियो।
हाल उनी न्याय परिषद् र न्याय सेवा आयोगको सचिवालय एवं अभिलेख व्यवस्थापनमा काम गरिरहेका छन्।
त्यसो त क्षत्री मेलमिलाप प्रशिक्षकका रूपमा पनि स्थापित छन्। एलएलएमका कक्षामा प्राध्यापन पनि गर्छन्।
स्नातकसम्म अर्घाखाँचीमै पढेका क्षत्रीले नेपाल ल क्याम्पस, काठमाडौँमा एलएलएम गरे। पछि जापानको क्युसु विश्वविद्यालयबाट छात्रवृत्ति प्राप्त गरी कानुनमै स्नातकोत्तरको थप अध्ययन गरे। त्रिभुवन विश्वविद्यालयबाटै विद्यावारिधि प्राप्त गरेर उनले औपचारिक शिक्षाको बिट मारेका हुन्।
Shares

प्रतिक्रिया