वर्षाका कारण देशका आठ राजमार्ग आज पूर्ण रुपमा अवरुद्ध भएका छन्।
प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार रातिदेखि भएकाे वर्षाका कारण अवरुद्ध भएका आठ राजमार्गमा अहिले गाडी चल्न सकेका छैनन्।
सङ्खुवासभाको भोटखोला गाउँपालिकास्थित कोसी राजमार्ग, रसुवाको गोसाइँकुण्ड गाउँपालिकास्थित नेपाल-चीन नाका जोड्ने पुल, सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकास्थित अरनिको राजमार्ग र लमजुङको मस्र्याङ्दी गाउँपालिकास्थित बेँसीशहर–मनाङ सडकखण्ड अहिले पूर्णरूपमा अवरुद्ध अवस्थामा छन्।
त्यसैगरी गुल्मीको सत्यवती गाउँपालिकास्थित रुद्रवेणी-बामी सडकखण्ड, गुल्मीकै चन्द्रकोट गाउँपालिकास्थित रिडी-बामी सडकखण्ड, रुकुम पश्चिमको आठबिसकोट नगरपालिकास्थित जाजरकोट-डोल्पा-भेरी करिडोर सडक र बैतडीको पाटन नगरपालिकास्थित दशरथ चन्द राजमार्ग पूर्णरूपमा अवरुद्ध भएका प्रहरीले जनाएको छ।
यसैगरी, काठमाडौँको टोखाबाट नुवाकोट जाने सडकखण्ड, बाग्लुङको बाग्लुङ नगरपालिकास्थित कालीगण्डकी करिडोर, नवलपरासी पूर्वको गैँडाकोट नगरपालिकास्थित कालीगण्डकी करिडोर, मुस्ताङको थासाङ गाउँपालिकास्थित बेनी–जोमसोम सडक, तनहुँको बन्दीपुर गाउँपालिकास्थित पृथ्वी राजमार्ग र रोल्पाको परिवर्तन गाउँपालिकास्थित सहिद राजमार्गमा एकतर्फी रुपमा आलोपालो गरेर सवारी सञ्चालन भइरहेको पनि प्रहरीले जनाएकाे छ।
पहिराे र कटानकाे कारण अवरुद्ध बनेका सडकमा पहिराे हटाउनेसहितका काम भइरहेकाे छ।

Shares

प्रतिक्रिया