महेन्द्रनगरस्थित महाकाली अस्पतालमा नयाँ भनेर पठाइएको भेन्टिलेटर पुरानो भएको खुलासा भएको छ।
टेन्डर प्रक्रियाबाट चैत २९ गते महाकाली अस्पतालमा आएको भेन्टिलेटर सन् २०१५ को भएको र यसअघि नै प्रयोगमा आएको खुलासा भएको हो।
भेन्टिलेटर आपूर्तिकर्ता कम्पनी आरजे सप्लायर्सले पुरानो र प्रयोग भइसकेको भेन्टिलेटर महाकाली अस्पताललाई भिराएको हो।
फिलिप्स कम्पनीको उक्त भेन्टिलेटरमा स्टिगर कोट्याइएको तथा भेन्टिलेटरभरी दाग नै दाग रहेको बताइएको छ।
अस्पतालले चैत १६ गते सूचना जारी गर्दै भेन्टिलेटरसहित पाँच उपकरण आपूर्तिको प्रस्ताव पेस गर्न आह्वान गरेको थियो। चैत २७ गते आरजे सप्लायर्सले ५३ लाख रुपैयाँमा एक थान भेन्टिलेटर, मनिटरलगायतका उपकरण आपूर्तिका लागि ठेक्का पाएको अस्पतालका स्टोरकिपर तिलक जोशीले बताए।
सोही कम्पनीले चैत अन्तिम साता अस्पतालमा भेन्टिलेटर पु¥याएको थियो। भेन्टिलेटर अस्पतालमा जडान गर्ने क्रममा पुरानो तथा प्रयोग गरिएको भेटिएको अस्पतालमा कार्यरत एनेसथेसिस्ट डा. वीरेन्द्र बुडालले बताए।
‘जडानका लागि खोल्ने क्रमामा भेन्टिलेटर पुरानो देखियो, त्यसपछि हामीले त्यसै राखेका छौँ ’, डा. बुडालले नेपालखबरसँग भने, ‘भेन्टिलेटर सन् २०१५ सालमा बनेको र यस अघि प्रयोग भइसकेको छ, त्यसमा युजर मेनिअल र वारेन्टी कार्ड पनि छैन्।’
उता अस्पतालका मेडिकल सुपरिडेन्टेन डा. हरिकुमार श्रेष्ठले भेन्टिलेटरसहित उपकरण अस्पतालमा आइपुगे पनि अहिलेसम्म नबुझेको बताए। ‘ठेक्का प¥यो भन्ने बित्तिकै उपकरण ल्याएर राखेको हो, तर लिखित रुपमा हामीले बुझेका छैनौँ। सम्झौता अनुसारका उपकरण मात्रै हामी लिन्छौँ ’, डा. श्रेष्ठले नेपालखबरसँग भने, ‘कम्पनीको इन्जिनियर आउँदै छ, उसले हर्नेछ।’
Shares
प्रतिक्रिया