समाज


आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

भक्तजनलाई निःशुल्क बस सेवा र भोजन
आज साउनको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू)

नेपालखबर
साउन ५, २०८२ सोमबार ७:४०, काठमाडौँ

आज साउन महिनाको पहिलो सोमबार काठमाडौँको पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरूमा बिहानैदेखि भक्तजनको घुँइचो लागेको छ।  

पशुपतिनाथ दर्शनको लागि हजारौँ भक्तजन उज्यालो नहुँदै पशुपति क्षेत्रमा लामवद्ध भएका छन्।

साउनको सोमबार व्रत बसी भगवान् शिवको पूजा, आराधना गरेमा विवाहित महिलाले अटल सौभाग्य प्राप्त गर्ने र अविवाहित महिलाले सुयोग्य बर पाउने धार्मिक विश्वास छ।

आज काठमाडौँ उपत्यकाका अन्य शिवालयहरूमा पनि भक्तजनको भीड लागेको छ।

राजधानीको उत्तरपूर्वी भेगस्थित गोकर्णेश्वर महादेव मन्दिर, पूर्वी भेगस्थित पेप्सीकोलाको नागेश्वर मन्दिर, वसन्तपुरस्थित सानो पशुपतिनाथ मन्दिरलगायतका शिवालयमा पनि भक्तजनको भीड लागेको छ। 

यस वर्षको साउने सोमबारका दिन पशुपतिनाथ दर्शनमा आउने भक्तजनले निःशुल्क यातायात सुविधा पाउने भएका छन्।

पशुपति क्षेत्र विकास कोषका अनुसार भक्तजनहरूलाई धर्म, संस्कृतिसँग सम्बन्धित संस्था र यातायात व्यवसायीको सहयोगमा आज पहिलो सोमबारदेखि यस्तो सुविधा दिन थालिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव सुवासचन्द्र जोशीले जानकारी दिए।

सोमबारदेखि चारवटा सार्वजनिक बसले चक्रपथ घुमेर पशुपतिनाथ आउने दर्शनार्थीलाई निःशुल्क सेवा दिनेछन्। यसमध्ये दुईवटा बस गीता प्रेसको नेपालस्थित बुक डिपोले व्यवस्था गरेको हाे। अन्य दुईवटा बस यातायात व्यवसायी महासङ्घले व्यवस्था गरेको हो। 

बिहान ४ः०० बजेदेखि नै भक्तजनलाई निःशुल्क बस सेवा दिइएको कोषले जनाएको छ। आज बिहान ३ः०० बजेदेखि नै पशुपतिनाथका चारै ढोका खुला गरिएको छ।

मूल मन्दिरमा भीड नहुने गरी कोषले दर्शनको व्यवस्था मिलाइएको जनाएको छ। भक्तजनलाई लाइनमा बसेको एक घण्टामै दर्शन गरेर फर्कन सक्नेगरी व्यवस्था मिलाइएको कोषले जनाएको छ। 

पशुपति क्षेत्र विकास कोषका संस्कृति संरक्षण महाशाखा प्रमुख अरुण विसेटका अनुसार आज दिनभरमा करिब पाँच लाख भक्तजनले मूल मन्दिर प्रवेश गरेर दर्शन गर्न सक्ने पूर्वानुमान गरिएको छ। 

यस वर्ष साउन महिनामा विशेष पूजाका लागि रु सात हजार ५०० भन्दा कमको टिकट नकाटिने कोषले जनाएको छ।   

भक्तजनका लागि मारवाडी समाजले निःशुल्क भोजनको व्यवस्था मिलाएको छ।  यो व्यवस्था सोमबारबाहेकका दिन पनि निरन्तर हुनेछ। 

सबै तस्बिर रासस

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad