सुत्केरी हुन नसकेपछि बागलुङको ढोरपाटन नगरपालिका–१ की ३३ वर्षीया भीमा भुसाल पाण्डेको हेलिकप्टरबाट उद्धार गरिएको छ । उनको बडिगाड गाउँपालिकाको केन्द्र ग्वालिचौरबाट उद्धार गरिएको हो ।
आज नै प्रसूति व्यथाले थलिएकी पाण्डेको उद्धारका लागि बडिगाड गाउँपालिकाका अध्यक्ष प्रमुख सिंह पाइजाको पहलमा सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशले हेलिकप्टर पठाएको हो ।
व्यथा लागेपछि प्राथमिक स्वास्थ्य केन्द्र बुर्तिबाङ पुगेकी उहाँलाई स्वास्थ्य केन्द्रले पोखरा पठाएको थियो । बाटोमा जिल्ला सदरमुकामतर्फ एम्बुलेन्समा आउँदै गर्दा ब्यथाले झन् च्याप्दै गएपछि बडिगाड गाउँपालिकाको कार्यालय परिसरमा पु¥याएको थियो । परिसरमै रहेकी उहाँलाई उद्धारका लागि हेलिकप्टर मगाइएको गाउँपालिकाका अध्यक्ष पाईजाले बताए।
उनलाई गण्डकी अस्पताल पोखरा लगिएको पाईजाले जानकारी दिए। पाण्डेका यसअघि पनि दुई सन्तान छन् । ‘उनको अवस्था देखेर माननीय मन्त्री नरदेवी पुनलाई सम्पर्क गरेँ’, अध्यक्ष पाइजाले भने, ‘उहाँले तत्काल प्रभुको हेलिकप्टर पठाउनुभयो उहाँ अस्पताल पुग्नुभएको छ ।’
स्वास्थ्य केन्द्रका अनुसार पेटमा बच्चा असामान्य अवस्थामा रहेकाले उहाँलाई पोखरा पठाइएको थियो ।
प्रतिक्रिया