समाज


अजिरकोटमा स्याउ खेतीको सफल परीक्षण

अजिरकोटमा स्याउ खेतीको सफल परीक्षण

नेपालखबर
साउन ४, २०८२ आइतबार १५:२०, गोरखा

गोरखाको अजिरकोट गाउँपालिकामा परीक्षणस्वरूप गरिएको स्याउखेती सफल भएको छ। अजिरकोट गाउँपालिका–२ अन्तर्गत मूलखर्क र नब्लुस्थित दुई वटा फार्ममा तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका स्याउका बिरुवाले यस वर्षदेखि राम्रो उत्पादन दिन थालेका छन् ।

गाउँपालिकाले ५० प्रतिशत अनुदानमा बिरुवा वितरण गर्ने कार्यक्रमअन्तर्गत समुद्री सतहदेखि २,२०० मिटरको उचाइमा अवस्थित मूलखर्क जडीबुटी तथा स्याउ फार्म र नब्लु स्याउ फार्ममा स्याउ रोपिएको थियो। स्थानीय व्यवसायी सञ्जीव लामाले मूलखर्कमा ४०० विरुवा र भीम तामाङले नब्लुमा ४०० विरुवा रोपेका थिए ।

अजिरकोट गाउँपालिका कृषि शाखाका प्रमुख शम्भु थापाका अनुसार दुवै फार्ममा हाल एक हजारदेखि एक हजार ५ सय किलोसम्म स्याउ उत्पादन भएको छ । 'तीन वर्षअघि परीक्षणस्वरूप लगाइएका बिरुवाले अहिले राम्ररी फल दिन थालेका छन्,' थापाले भने, 'यो परीक्षण सफल भएको मानिएको छ र अब व्यावसायिक स्याउखेती विस्तार गर्ने योजना छ ।'

स्याउ व्यवसायी लामाका अनुसार गाउँपालिकाले सन् २०७९ मा इटलीबाट ल्याइएको फुजी, रेड डेलिसियस र गाला जातका स्याउका बिरुवा वितरण गरेको थियो । 'गत वर्ष पनि फलेको थियो तर पहिलो वर्ष भएकाले टिपेर फाल्नुपर्‍यो,' उनले भने, 'यस वर्ष भने बजारसम्म पुर्याउने योजना बनाएका छौँ ।'

गाउँपालिकाले आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रममा व्यावसायिक स्याउखेतीलाई प्राथमिकतामा राखेको छ । आगामी वर्ष पाँच हजार स्याउका बिरुवा वितरण गर्ने लक्ष्य रहेको थापाले जानकारी दिए।

पालिकाका अध्यक्ष दीपक देवकोटाका अनुसार वडा नं १ र २ मा खेती विस्तार गर्दै स्याउ उत्पादनको ‘पकेट क्षेत्र’ बनाउने र कृषि पर्यटनसँग जोड्ने योजना बनाइएको छ।

गाउँपालिकाका उपाध्यक्ष अनिता भुजेलले परीक्षणका रूपमा रोपिएको स्याउले उत्पादन दिन थालेपछि परीक्षण सफल भएको बताइन्। उनले फुजी, रेड डेलिसियस र गाला गरी तीन जातका स्याउले सफल उत्पादन दिएको उल्लेख गर्दै भनिन्,'लगाइएका बोटहरूमा लटरम्म स्याउ फलेको छ।' स्याउ फलेको देख्दा यो क्षेत्रमा राम्रो सम्भावना रहेको पुष्टि भएको भन्दै उनले प्राविधिकको समन्वयमा स्याउखेती विस्तार गरिने जानकारी दिइन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad