समाज


काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

यसवर्ष झण्डै ३५ सय विद्यार्थीले आफूले रोजेका निजी कलेजमा पाउनेछन् निःशुल्क पढ्न
काठमाडौँ महानगरको छात्रवृत्ति परीक्षा आज, १६१३७ विद्यार्थी सहभागी हुँदै

गत वर्ष काठमाडौँ महानगरपालिकाले सञ्चालन गरेको छात्रवृत्ति परीक्षामा सहभागी विद्यार्थी। फाइल तस्बिर


नेपालखबर
साउन ३, २०८२ शनिबार ७:४, काठमाडौँ

काठमाडौँ महानगरपालिकाले प्रदान गर्ने कक्षा ११ र १२ को छात्रवृत्ति परीक्षा आज सञ्चालन हुँदैछ। परीक्षा शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुने महानगरपालिकाले जनाएको छ।

यस वर्ष छात्रवृत्ति प्राप्त गर्न १६ हजार १३७ विद्यार्थीले परीक्षा दिने तयारी गरेका छन्। महानगरले विगत तीन वर्षदेखि सञ्चालित छात्रवृत्ति कार्यक्रममार्फत आर्थिक रूपमा कमजोर तर शैक्षिक रूपमा सक्षम विद्यार्थीहरूलाई अवसर प्रदान गर्दै आएको छ। 

महानगरपालिकाले शैक्षिक सत्र २०८२/०८३ का लागि कक्षा ११ र १२ मा संस्थागत विद्यालयहरूमा छात्रवृत्ति कोटामा अध्ययन गर्न इच्छुक विद्यार्थीका लागि गएको असार १८ गते आवेदन खुला गरेको थियो। 

जसमा असार २७ गतेसम्म १७ हजार ९२९ जनाले आवेदन दिएका थिए।  

आवेदन दिएकामध्ये १६ हजार १३७ जना विद्यार्थी परीक्षाका लागि छनोट भएका महानगरपालिकाले जनाएको छ। देशका ७७ जिल्लाकै विद्यार्थीले छात्रवृत्तिको लागि आवेशन दिएका छन्। 

पहिचान खुल्ने नागरिकता वा जन्मदर्ता, सार्वजनिक विद्यालयबाट अध्ययन गरेको भए सो को प्रमाण, संस्थागत विद्यालयमा अध्ययन गरेको भए छात्रवृत्तिमा पढेको, अथवा काठमाडौँ महानगरपालिकामा स्थाई बसोबास भएको प्रमाण संग्लग्न नभएका १ हजार ९२ आवेदन अस्वीकृत भएका महानगरपालिकाले जनाएको छ। 

महानगरको शिक्षा विभागका अनुसार छनोट भएका विद्यार्थीहरूमा विज्ञान संकायका लागि ११ हजार ५९०, व्यवस्थापन संकायका लागि ४ हजार १६४, मानविकी संकायका लागि ३२ जना, शिक्षा संकायका लागि ९५ जना र कानुन संकायका लागि २५६ जनाले आज छात्रवृत्ति परीक्षा दिँदैछन्।

परीक्षा कक्षा १० को पाठ्यक्रममा आधारित हुने महानगरपालिकाको शिक्षा शाखाले जनाएको छ। जसमा अनिवार्य गणित, विज्ञान र अंग्रेजी विषयबाट ३०र३० प्रश्न र सामान्य ज्ञानबाट १० प्रश्न गरी कुल १०० बहुवैकल्पिक प्रश्नहरू सोधिनेछन्। परीक्षा उत्तीर्ण गर्न न्यूनतम ४० प्रतिशत अंक ल्याउनुपर्ने छ। 

परीक्षाको नतिजापछि महानगरले मेरिट सूचीका आधारमा छात्रवृत्ति प्रदान गर्नेछ। महानगरको यो कार्यक्रमले आर्थिक रूपमा कमजोर तर मेधावी विद्यार्थीलाई कक्षा ११ र १२ मा आफूले रोजेको संस्थागत विद्यालयमा गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर प्राप्त गर्नेछन्।

गतवर्ष १२ हजार जनाले आवेदन दिएकोमा ३ हजार ८०१ जनाले छात्रवृत्ति प्राप्‍त गरेका थिए। गत वर्षको तुलनामा यसपालि आवेदन दिनेको संख्या करिब ३० प्रतिशतले बढेको छ। 

यसपालि कम्तीमा तीन हजार पाँचसय विद्यार्थीलाई छात्रवृत्ति दिन सकिने अनुमान महानगरले गरेको छ। विद्यालयहरूमा भर्ना हुने विद्यार्थी संख्याले छात्रवृत्ति प्राप्त गर्नेको संख्या निर्धारित हुन्छ। 

महानगरले प्रवेश परीक्षालाई निष्पक्ष, मर्यादित र व्यवस्थित बनाउन केन्द्राध्यक्षहरूलाई अभिमुखिकरण प्रदान गरिएको जनाएको छ।

महानगरले केन्द्राध्यक्षहरूले परीक्षा सुरु हुनुभन्दा एक घण्टा अगावै उपस्थित भई सिट योजना, प्रश्नपत्र र उत्तरपुस्तिकाको सुरक्षा, विद्यार्थी परिचय प्रमाणीकरण र अनुशासन कायम गर्नुपर्ने जनाएको छ। प्रश्नपत्रको गोप्यता कायम राख्न कडा नियम लागू गरिएको र कुनै अनियमितता भए तुरुन्त प्रतिवेदन बुझाउनसमेत महानगरले निर्देशन दिएको छ।

छात्रवृत्ति परीक्षामा उम्मेदवारले पालना गर्नुपर्ने नियमहरू:   
१. परीक्षामा प्रवेश गर्न प्रवेशपत्र अनिवार्य ल्याउनुपर्नेछ। प्रवेशपत्र बिना सहभागी हुन पाइने छैन। केन्द्राध्यक्ष वा निरीक्षकले मागेमा प्रवेशपत्र देखाउनुपर्नेछ।  

२. सुरक्षा जाँचका लागि परीक्षार्थीहरू परीक्षा सुरु हुनुभन्दा कम्तीमा एक घण्टा अगावै परीक्षा केन्द्रमा उपस्थित हुनुपर्नेछ। परीक्षा सुरु हुनु १५ मिनेटअघि सूचनापछि मात्र हलमा प्रवेश गर्न पाइने छ।  

३. केन्द्राध्यक्षको निर्देशन पालना गरी तोकिएको स्थानमा बसी परीक्षा दिनुपर्नेछ। केन्द्राध्यक्ष, निजले तोकेको व्यक्ति वा निरीक्षण टोलीले जुनसुकै बेला खानतलासी गर्न सक्नेछ।  

४. केन्द्राध्यक्षको अनुमति बिना परीक्षा हल वा भवन छाड्न पाइने छैन। महानगरपालिकाबाट सूचना नभएमा परीक्षा सर्ने छैन।  

५. किताब, नोटबुक, गाइड, कापी, चिट, क्यालकुलेटर, मोबाइल फोन, ब्लुटुथ, आइप्याड, ट्याबलेट, हातहतियार, अवैध पदार्थ, विद्युतीय उपकरण, वालेट, पर्स वा घडी (स्मार्ट वाच) परीक्षा केन्द्रमा लैजान निषेध छ।  

६. परीक्षा सुरु भएको १५ मिनेटपछि आउने परीक्षार्थीलाई हलमा प्रवेश दिइने छैन। परीक्षामा अनिवार्य हाजिरी गर्नुपर्नेछ।  

७. कालो जेल पेन (Black Gel Pen) परीक्षार्थीले आफैं ल्याउनुपर्नेछ। OMR sheet मा सही उत्तर पूर्ण रूपमा भर्नुपर्नेछ। प्रश्नपत्रको "set" OMR sheet मा अनिवार्य लेख्नुपर्नेछ; नलेखेमा उत्तरपुस्तिका रद्द हुनेछ। सही उत्तरको A, B, C, D मा कालो पेनले बबल भर्नुपर्नेछ।  

८. सिसाकलम प्रयोग गरेको, खुर्केको, केरमेट गरेको, च्यातिएको वा टिपेक्स लगाएको उत्तरलाई अंक दिइने छैन।  

९. निर्धारित दुई घण्टा समय समाप्त भएपछि मात्र परीक्षार्थी हलबाट बाहिर जान पाउनेछन्। प्रश्नपत्र निरीक्षकलाई फिर्ता गर्नुपर्नेछ।  

१०. नक्कली परीक्षार्थी खडा गरेमा वा प्रयास गरेमा परीक्षा रद्द गरी कानुनअनुसार कारबाही गरिनेछ।  

११. आपसमा कुराकानी वा संकेत गर्न निषेध छ। नक्कल गरेको पाइएमा नक्कल गर्ने र गर्न दिने दुवैलाई निष्कासित गरिनेछ।  

१२. परीक्षा मर्यादा विपरीत कार्य गरेमा, अनियमितता गरेमा, अर्को व्यक्तिले परीक्षा दिएमा, उत्तरपुस्तिका नबुझाई लगेमा वा च्यातेमा निष्कासन गरी कानुनअनुसार कारबाही गरिनेछ, र परीक्षा रद्द हुनेछ।  

१३. उत्तरपुस्तिका बुझाएर बाहिर गएपछि पुनः परीक्षा कोठामा प्रवेश गरी परीक्षा दिन पाइने छैन।  

१४. बिरामी परीक्षार्थीले परीक्षा दिँदा कुनै समस्या भए समिति जिम्मेवार हुने छैन।  

१५. उत्तरपुस्तिकामा तोकिएको स्थानबाहेक अन्यत्र लेखेमा वा संकेत गरेमा परीक्षा रद्द हुनेछ, र परीक्षाफल प्रकाशित हुने छैन।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad