ad ad

समाज


टेकु अस्पतालका निर्देशक भन्छन्ः काठमाडौंमै १५ सय संक्रमित भेटिएको हल्ला कसले फैलाएछ!

टेकु अस्पतालका निर्देशक भन्छन्ः काठमाडौंमै १५ सय संक्रमित भेटिएको हल्ला कसले फैलाएछ!

नेपालखबर
बैशाख १, २०७७ सोमबार २:४६,

काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका निर्देशक डा. सागर राजभण्डारीले काठमाडौं उपत्यकामै कोरोना भाइरस संक्रमितको संख्या १५ सय रहेकाे भनेर सामाजिक सञ्जालमा फैलाइएको हल्ला पूर्णत: गलत भएको बताएका छन्।

‘टेकु अस्पतालका एक वरिष्ठ अधिकारीले काठमाडौं उपत्यकामै कोरोनाको १५ सय केस रहेको बताएको’ भन्दै सामाजिक सञ्जाल ट्विटरमा लेखिएको पाइएपछि सोमबार बिहानै नेपालखबरले राखेको जिज्ञासामा निर्देशक राजभण्डारीले त्यो भ्रम भएको बताएका हुन्।

‘कसले त्यस्तो लेखेछन्, कुरै नबुझी,’ नेपालखबरसँग निर्देशक डा. राजभण्डारीले भने, ‘त्यो पूर्णतः गलत कुरा हो।’

उनका अनुसार केही समयअघि (हाल पनि होइन) देशभर कोरोना भाइरसको संक्रमण यतिसम्म भएमा हामी यसरी उपचार वा व्यवस्थापन गर्न सक्छौं भनेर अनुमान गर्ने क्रममा १५ सयको ‘प्लानिङ’ त्यो पनि देशभरका लागि गरिएको हो।

‘तर कुरा नबुझेपछि के लाग्छ र,’ डा. राजभण्डारीले भने, ‘काठमाडौं उपत्यका त झन् अहिले देशका अन्य स्थानका तुलनामा कोरोनाबाट सुरक्षित छ।’

किनकि यहाँ विदेशबाट आउने भनेको हवाईजहाजबाट हो, जुन अहिले बन्द गराइएको छ। कुनै कुनै विशेष अन्तर्राष्ट्रिय उडान गरिए पनि विमानस्थलमा यात्रुको स्वास्थ्य जाँच गरिन्छ। चैत ४ यता काठमाडौंमा एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन।

बरु नेपाल-भारत खुला सीमाका कारण यतिबेला नेपालका तराईलगायत गाउँघर कोरोनाको जोखिम देखिएको उनले बताए।

‘अहिले भारतका बिहारलगायत क्षेत्रमा संक्रमितको संख्या बढिरहेको छ भने भारतबाट मानिस नेपाल भित्रिने क्रम बढेको छ,’ उनले भने, ‘त्यसलाई तत्काल रोक्न तथा कडाइ गर्न आवश्यक छ।’

हिजै मात्र पर्साको वीरगन्जमा तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू भारतबाट आएको पर्सा प्रशासनले जनाएको छ। उनीहरूबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

डा. राजभण्डारीका अनुसार अलि अगाडि नेपालमा कोरोना संक्रमणको स्थिति आकलन र त्यसको समाधानका लागि योजना बनाउने क्रममा देशभरमा मानौं १५ सय मानिस कोरोना संक्रमित भए भने तीमध्ये ८० प्रतिशत त सामान्य लक्षणका हुन्छन्, जसलाई घरमै राखेर उपचार गराउन सकिन्छ।

अनि १०-१५ प्रतिशत बिरामीलाई मध्यम लक्षण देखिन सक्छन्, जसलाई अस्पतालका आइसोलेसन वार्डमा उपचार गर्न सकिन्छ भने बाँकी ५-१० प्रतिशत जसलाई आईसीयूको आवश्यकता पर्न सक्छ। यसरी गरिएको ‘प्लानिङ’लाई काठमाडौंमै १५ सय केस रहेकाे भनेर हल्ला फैलाएको देख्दा आफू अचम्मित भएको निर्देशक डा. राजभण्डारीले नेपालखबरसँग गुनासो गरे।

केही समययता कोरोना महामारीबारे सामाजिक सञ्जलामा गलत हल्ला फैलाउने र मानिसलाई आतंकित बनाउने क्रम बढेको छ।

कुन सूचना सही हो, कुन गलत हो तथा कुन सञ्चारमाध्यमले सही सूचना सम्प्रेषण गर्छन् भन्ने जानकारी नहुँदा पनि धेरै मानिस कोरोनाका विषयमा भ्रममा परिरहेका छन्। 

नेपालमा अहिलेसम्म १२ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको छ भने दैनिक देशभर नमुना परीक्षण भइरहेको छ। तीमध्ये पनि एक जना त पहिल्यै निकाे भइसकेका छन्। बाँकी ११ जना टेकुलगायत विभिन्न अस्पतालमा उपचाररत छन्। 

उनीहरु सबैकाे अवस्था सामान्य रहेकाे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएकाे छ।

आइतबार अपराह्नसम्म देशभर गरेर कोरोना आशंकामा स्वास्थ्य परीक्षण गराउनेकाे संख्या ५ हजार १ सय ८४ पुगेको छ। 

यस्तै देशभर होम क्वारेन्टिन तथा स्थानीय क्वारेन्टिनमा बस्नेको संख्या ७ हजार ९ सय ७३ पुगेको मन्त्रालयले जनाएकाे छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .