यमनमा भारतीय नर्स निमिषा प्रियाको मृत्युदण्डलाई माफीमा परिणत गर्ने प्रयास जारी छ तर अहिलेसम्म सफलता प्राप्त भएको छैन।
निमिषालाई यही जुलाई १६ मा गोली हानी मृत्युदण्ड दिने भनिएको थियो तर तत्काललाई यो सजाय स्थगन गरिएको छ।
निमिषा प्रियाले सन् २०१७ मा यमनका व्यापारिक साझेदारको हत्या गरेकी थिइन्। यसमा यमनको स्थानीय अदालतले २०२० मा मृत्युदण्डको सजाय सुनाएको हो।
निमिषा प्रियाका व्यापारिक साझेदार यमनी नागरिक तलाल अब्दो महदी थिए। निमिषाले यमनको राजधानी सानामा अब्दोसँगै क्लिनिक चलाउँथिन्। तर उनले धेरै दु:ख दिएपछि निमिषाले उनलाई मारेकी थिइन्।
यस विषमा यमनमका साथै अरबका सञ्चारमाध्यममा व्यापक चर्चा भइरहेको छ।
यमनको अरबी समाचार वेबसाइट अल-माहिराहले लेखेको छ, ‘यमनको इस्लामिक कानुनअनुसार, पीडितको परिवार सहमत भएमा मात्र निमिषा प्रियालाई माफी दिन सकिन्छ।’
अल-यमन-अल-गादले लेखेको छ, ‘निमिषाका वकिलहरूले जुलाई ९ मा भनेका थिए- मृत्युदण्ड कार्यान्वयनका लागि जुलाई १६ तारिख तय गरिएको छ। यमनको शरिया कानुनअनुसार, निमिषाको परिवारले पीडितको परिवारलाई ब्लड मनीका रूपमा १० लाख डलर प्रस्ताव गरेको थियो तर कुनै सम्झौता हुन सकेन।’
निमिषालाई बचाउन धेरै महत्त्वपूर्ण धार्मिक विद्वान् पनि लागिरहेका छन्। जसमा यमनका सुफी विद्वान् शेख हबिब उमर बिन हाफिज पनि छन्।
भारत सरकारले कूटनीतिक स्तरमा पनि प्रयास गरिरहेको छ तर हुथीहरूसँग राम्रो सम्बन्ध नभएका कारण सफलता मिलिरहेको छैन।
अल-यमन-अल-गदले लेखेको छ, ‘निमिषा प्रियाको मुद्दा अब सामान्य अपराधको घटना रहेन। यसमा कानुन, परम्परा, राजनीति र धर्म सबै संलग्न छन्। मृत्युको मिति स्थगन गर्नुले निश्चित रूपमा आशा जगाएको छ।’
यूएईको गल्फ न्युजले लेखेको छ, ‘निमिषा प्रियाको मुद्दामा भारतका लागि सबैभन्दा ठूलो चुनौती भनेको यमनमा कूटनीतिक उपस्थिति धेरै कम हुनु हो। भारतले हुथीको शासनलाई मान्यता दिँदैन। भारतसँग हस्तक्षेपका लागि सीमित विकल्प मात्र छन्। भारतले आदिवासी र धार्मिक नेतामार्फत निमिषाको जीवन बचाउन खोजिरहेको छ। अन्तिम समयमा भारतका ग्रान्ड मुफ्तीमार्फत प्रयास गरियो र मृत्युदण्ड स्थगन गरियो। तर खतरा अझै समाप्त भएको छैन।’
अरबी समाचार वेबसाइट अल-कुद्सले तलाल अब्दो महदीका भाइ अब्दुल फताह महदीको फेसबुक पोस्ट उल्लेख गरेको छ।
अल कुद्सका अनुसार, यो पोस्ट बुधबारको हो। पोस्टमा उनले लेखेका छन्, ‘मध्यस्थता र वार्तामा केही नयाँ छैन, न यो कुनै अचम्मको कुरा हो। वर्षौंदेखि त्यहाँ यस मुद्दामा मध्यस्थताका लागि कडा प्रयास गरिएको छ। यसका बाबजुद हाम्रो अडानमा कुनै परिवर्तन आएको छैन। हाम्रो माग स्पष्ट छ। दोषीलाई सजाय हुनुपर्छ। यसबाहेक हामी अरू केही चाहँदैनौँ।’
‘दुर्भाग्यवश, फाँसी स्थगन गरिएको छ, जुन हामीले सोचेका थिएनौँ। अदालतलाई थाहा छ- हामीले कुनै पनि प्रकारको सम्झौता अस्वीकार गरेका छौँ। मृत्युदण्ड नभएसम्म हाम्रा प्रयास जारी रहनेछन्। हामी कुनै पनि दबाबमा झुक्ने छैनौँ। रगतको कुनै सम्झौता हुन सक्दैन। न्याय पाउन धेरै समय लाग्न सक्छ, तर हामी कुनै सम्झौता गर्ने छैनौँ।’
अल-कुद्सका अनुसार, अब्दुल फताह महदीले लेखेका छन्, ‘भारतीय मिडियामा भनिएको छ- तलालले निमिषाको राहदानी जफत गरे र उनको शोषण गरे, तर यसमा कुनै सत्यता छैन। निमिषाले कुनै पनि अदालतको सुनुवाइमा त्यस्तो दाबी गरेकी छैनन् न त उनको कानुनी टोलीले नै भनेको छ। हामी दु:खी छौँ- भारतीय मिडियाले तथ्य हेरफेर गरिरहेका छन्।’
निमिषा प्रियाको मृत्युदण्ड स्थगन गराउने मौलवी

निमिषा प्रिया बचाउन अभियान चलाएको सेभ निमिषा प्रिया इन्टरनेसनल एक्सन काउन्सिलले मंगलबार भनेको छ- सोमबार, जुलाई १४ मा केरलाका एक उच्च सम्मानित र प्रभावशाली मुस्लिम धर्मगुरु, ग्रान्ड मुफ्ती एपी अबुबकर मुसलियारले निमिषा प्रियाको मुद्दाबारे 'यमनका केही शेख' सँग कुरा गरे।
सर्वोच्च अदालतका वकिल र काउन्सिल सदस्य सुभाष चन्द्रले बीबीसी हिन्दीसँग भनेका छन्, ‘सेभ निमिषा प्रिया इन्टरनेसनल एक्सन काउन्सिलका सदस्यहरूले ग्रान्ड मुफ्तीलाई भेटे, त्यसपछि उनीहरूले त्यहाँ (यमन) केही प्रभावशाली शेखहरूसँग कुरा गरे।’
चन्द्रले अगाडि भनेका छन्, ‘हामीलाई भनिएको छ कि बैठक बोलाइएको छ, जसमा मृतकका केही आफन्तसहित प्रभावशाली व्यक्ति पनि उपस्थित हुनेछन्।’
निमिषा प्रियालाई जुलाई १६ मा मृत्युदण्ड दिइँदै थियो। त्यसको मात्र ४८ घण्टाअघि कन्थापुरम वा मुसलियारको हस्तक्षेपले पीडित परिवारसँगको वार्तालाई गति दिएको हो।
मुसलियारलाई अनौपचारिक रूपमा भारतको 'ग्रान्ड मुफ्ती'को उपाधि पनि दिइएको छ, उनी सुन्नी सुफीवाद र शिक्षामा उनको योगदानका लागि परिचित छन्। यद्यपि, महिलाहरूमाथि उनको भनाइको पनि धेरै पटक निन्दा गरिएको छ।
केरला विश्वविद्यालयका इस्लामिक इतिहासका प्राध्यापक असरफ कडाक्कलले बीबीसी हिन्दीसँग भनेका छन्, ‘उनका अनुयायीहरूका लागि उनी एक पैगम्बरजस्तै हुन्। कतिपय मानिसले उनीसँग जादू शक्ति पनि छ भन्ने विश्वास गर्छन्।’
‘उनी बरेलवी सम्प्रदायबाट आएका हुन्। प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई सुफी सम्मेलनमा सम्मान गरेका छन्। तर महिलाप्रति उनको दृष्टिकोणको धेरै आलोचना भएको छ।’
यस्तो छ घटनाक्रम
-२००८ मा केरलाको पलक्कडकी १९ वर्षीया निमिषा प्रिया कामका लागि यमन पुगिन्। उनले राजधानी सानाको एक सरकारी अस्पतालमा नर्सको जागिर पाइन्।
-२०११ मा निमिषा विवाहका लागि भारत फर्किइन्। उनले कोच्ची निवासी टमी थोमससँग विवाह गरिन् र दुवै यमन गए। त्यहाँ थोमसले इलेक्ट्रिसिएन सहायकका रूपमा काम पाए, तर तलब धेरै कम थियो।
-२०१२ मा निमिषाले छोरी मिसाल जन्माइन्, तर यमनमा गुजारा गर्न गाह्रो भयो।
-२०१४ मा थोमस आफ्नी छोरीसँग भारत कोच्ची फर्किए, जहाँ उनले ई-रिक्सा चलाउन थाले। निमिषाले आफ्नो कम तलब भएको जागिर छाडेर क्लिनिक खोल्ने निर्णय गरिन्, तर यमनी कानुनले उनलाई स्थानीय पार्टनर खोज्न बाध्य बनायो।
-यसै क्रममा निमिषाले कपडा पसल गर्ने महदीलाई भेटिन्। निमिषाले नै महदीकी श्रीमतीलाई बच्चा जन्माउन मद्दत गरेकी थिइन्।
-जनवरी २०१५ मा निमिषा आफ्नी छोरी मिसाल भेट्न भारत आइन्। महदी पनि उनीसँगै भारत आए।
-यस समयमा महदीले निमिषाको विवाहको फोटो चोरे। पछि महदीले तस्बिर बिगारेर आफू नै निमिषाको श्रीमान् भएको दाबी गरे।
-क्लिनिक सुरु गर्न निमिषाले परिवार र साथीभाइबाट करिब ५० लाख रुपैयाँ जम्मा गरिन् र यमन पुगेपछि क्लिनिक सुरु गरिन्।
-निमिषाले आफ्ना श्रीमान् र छोरीलाई यमन बोलाउन कागजी प्रक्रिया सुरु गरिन्, तर मार्चमा त्यहाँ गृहयुद्ध सुरु भयो र उनीहरू यमन जान सकेनन्।

यमनमा गृहयुद्ध सुरु भएपछि भारतले त्यहाँबाट आफ्ना नागरिक बाहिर निकाल्न 'अपरेसन राहत' थाल्यो। यो अपरेसन अप्रिल-मे २०१५ सम्म चल्यो। जसअन्तर्गत ४,६०० भारतीय र लगभग एक हजार विदेशी नागरिकलाई यमनबाट निकालियो, तर दुर्भाग्य! निमिषा मात्र भारत फर्कन पाइनन्।
यसपछि २०१६ मा महदीले निमिषालाई शारीरिक दुर्व्यवहार गर्न थाले। उनले निमिषाको क्लिनिकबाट हुने नाफा पनि हडप्यो। जब निमिषाले यसबारे उनलाई प्रश्न गरिन्, तब उनीहरूको सम्बन्ध बिग्रियो। महदी निमिषालाई यमनबाट बाहिर जान दिन चाहँदैनथे, त्यसैले उनले निमिषाको राहदानी आफूसँगै राखे।
निमिषाले महदीविरुद्ध प्रहरीमा जाहेरी पनि दिइन्, तर महदीले सम्पादित तस्बिर देखाए र निमिषाको पति भएको दाबी गरेपछि प्रहरीले उल्टै निमिषालाई ६ दिन हिरासतमा राख्यो।
निमिषाले औषधिको ओभरडोज दिइन्, जसले गर्दा महदीको मृत्यु भयो
निमिषा धेरै दु:खी भइन्। जुलाई २०१७ मा महदीबाट राहदानी लिन निमिषाले उनलाई बेहोस बनाउने सुई लगाइदिइन्, तर त्यसले काम गरेन। त्यसपछि निमिषाले महदीलाई ओभरडोज दिन्छिन्, परिणामस्वरूप उनको मृत्यु हुन्छ।
मिडिया रिपोर्टअनुसार निमिषाले महदीको शव टुक्रा-टुक्रा पारेर पानीट्यांकीमा फ्याँकिदिएकी थिइन्। यसपछि प्रहरीले निमिषालाई पक्राउ गर्यो।
यमनको सर्वोच्च न्यायिक परिषद्ले महदीको हत्या कसुरमा निमिषालाई मृत्युदण्डको सजाय सुनाएको हो। निमिषाले यमनको सर्वोच्च अदालतमा माफीका लागि अपिल गरेकी थिइन्, तर जुन २०२३ मा त्यो खारेज गरियो।
यमनका राष्ट्रपति रसादले पनि सजाय अनुमोदन गरे।
Shares

प्रतिक्रिया