सर्वोच्च अदालतले आठ वर्ष नाघेका मुद्दा शून्यमा झारेर न्याय सम्पादनमा एउटा कोशेढुंगा पार गरेको छ।
बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना कार्यान्वयन गरी मुद्दा व्यवस्थापनमा यो कोशेढुंगा पार गर्न सफल भएको सर्वोच्च अदालतले जनाएको छ।
सर्वोच्चले पुराना मुद्दा किनारा लगाउने कार्य अभियानकै रूपमा अघि बढाएको थियो। ८ वर्ष नाघेका मुद्दा शुक्रबारबाहेक प्रत्येक दिन पेसी तोक्ने गरिएको थियो। त्यस्तै हेर्न नमिल्ने न्यायाधीशबाहेकका इजलासमा मात्र पेसी तोकी पालो आउने गरिएको थियो।
आर्थिक वर्ष २०८०/८१ मा सर्वोच्चको लगतमा कुल मुद्दा ४१ हजार २३८ थिए। तीमध्ये १५ हजार ५५२ मुद्दा किनारा लागेका थिए, जुन फर्स्योट दर ३७.६४ प्रतिशत हो।
गएका १२ महिनामा सर्वोच्च अदालतमा पुराना सरेर आएका र यो वर्ष नयाँ थपिएका गरी कुल मुद्दाको लगत ४० हजार ७४० रहेकामा १६ हजार ६०१ (४०.७५ प्रतिशत) फर्स्योट भएका छन्।
अब यस आर्थिक वर्षबाट ०८२/८३ का लागि २४ हजार १३९ मुद्दा सर्ने भएका छन्। अर्को वर्षका लागि सरेको कार्यबोझ अघिल्लो वर्षको तुलनामा १ हजार ५४७ मुद्दाले कम हो।
सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका ४ हजार ५३५ वटा मुद्दा यस वर्ष फर्स्योट भएका छन्। अब पाँच वर्ष नाघेका मुद्दा १ हजार २६४ मात्र बाँकी छन्। २०८२/८३ को अन्त्यसम्म यस्ता मुद्दा शून्य बनाउने रणनीति पञ्चवर्षीय योजनाले लिएको छ।
सर्वोच्चका अनुसार, दुई वर्ष नाघेका मुद्दा ८ हजार ९७४ बाँकी रहेका छन्।
‘आगामी वर्षमा यो संख्या सारभूत रूपमा न्यूनीकरण गरिनेछ,’ सर्वोच्चका प्रवक्ता अच्युत कुँइकेल भन्छन्, ‘विगत वर्षहरूको तुलनामा सर्वोच्च अदालतको यो प्रगति उल्लेखनीय हो।’
उनका अनुसार, सर्वोच्च अदालतमा मुद्दा एवं पेसी व्यवस्थापनलाई प्रभावकारी बनाउन ५ वर्ष नाघेका मुद्दा फर्स्योटको काम अभियानकै रूपमा अघि बढाइएको छ। यसअनुसार ५ वर्ष नाघेका मुद्दालाई मासिक ७२ वटा इजलास दिने गरिएको छ।
थुनुवाका मुद्दालाई प्राथमिकतामा राखिएको कारण सर्वोच्च अदालतको मुद्दा फर्योटमा उल्लेखनीय सुधार भएको छ।
उच्च अदालतहरूमा कुल ६०,६५५ लगत रहेकोमा ४६२५८ फर्स्योट भई २१,०७५ बाँकी छन्, जसमध्ये २ वर्ष नाघेका मुद्दा २६ छन्।
जिल्ला अदालतहरूमा कुल २ लाख ६४ हजार ६३६ लगत रहेकोमा १ लाख ६३ हजार ३६१ फर्योट भएर १ लाख १ हजार २७५ बाँकी रहेको छ। जसमध्ये २ वर्ष नाघेका मुद्दा ३,९९८ थान रहेको छ।
Shares

प्रतिक्रिया