समाज


वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्नेलाई दिए माफी

वरिष्ठ अधिवक्ता त्रिपाठीले आफूमाथि आक्रमण गर्नेलाई दिए माफी

नेपालखबर
असार ३२, २०८२ बुधबार १९:३०, काठमाडौँ

सहकारी पीडितहरूको पक्षमा बहस गर्दा आक्रमण गर्नेलाई वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले माफी दिएका छन्। २०८१ माघ २ गते स्वर्णलक्ष्मी सहकारी ठगीको अभियोगमा जिल्ला अदालत काठमाडौँमा सहकारी पीडितको पक्षमा बहस गरेपछि उनलाई रवि लामिछानेका समर्थकले गेट बाहिर कुटपिट गरेका थिए। 

कुटपिटमा संलग्न चार जनाविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। तर आफूलाई कुटपिट गर्नेहरू अन्यबाटै परिचालित भएकाले क्षमदान दिएको त्रिपाठीले बताएका छन्। उनले इजलासमै उपस्थित भएर दाबी परिवर्तन गरेपछि बुधबार जिल्ला न्यायाधीश शिशिरराज ढकालको इजालसले सोही अनुसार फैसला गरेको हो। 

इजलासको यो आदेशसँगै चारै जनाले मुद्दाबाट सफाइ पाएका छन्। २०८१ माघ २३ गते ३ जनाविरुद्ध र फागुन १२ गते दिपक आलेविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भएको थियो। उक्त मुद्दाका प्रतिवादीहरू पुर्पक्षका लागि धरौटीमा रिहा भएका थिए। 

जिल्ला अदालत काठमाडौँका न्यायाधीश गायत्रीप्रसाद रेग्मीको इजलासले तीनै जनालाई एक/एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको हो।

हातपातको आरोपमा सुरुमा पक्राउ परेकामा दोलखाको तामाकोसी गाउँपालिका-१ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका-५, टीकाथली बस्ने ४८ वर्षीय ललितकुमार केसी, हुम्लाको अदानचुली गाउँपालिका-४ घर भई हाल काठमाडौँको टोखा बस्ने ३२ वर्षका महानन्द जैसी र झापाको बुद्धशान्ति गाउँपालिका(४ घर भई शान्तिनगर बस्ने ५५ वर्षकी शीतल राई भन्ने सीतादेवी राई रहेका थिए। 

उनीहरू धरौटी बुझाएर रिहा भएका थिए। दीपक आलेलाई पनि धरौटीमा छाडिएको थियो। बुधबार चारै जनालाई त्रिपाठीले माफी दिएसँगै सफाइ पाएका हुन्। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad