समाज


बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकापर्ण

बन्दना मिश्र मधुको ‘कविताको अन्नप्राशन’ लोकापर्ण

नेपालखबर
असार २९, २०८२ आइतबार २२:८, काठमाडौँ

प्राध्यापक वन्दना मिश्र ‘मधु’को कविता सङ्ग्रह ‘कविताको अन्नप्राशन’को आइतबार  विमोचन गरिएको छ। प्रतिनिधिसभाकी उपसभामुख इन्दिरा राना मगर, पत्रकार नम्रता शर्मा, लेखक तथा पत्रकार रोहित भण्डारी र प्रकाशक रोश्ना सुवेदी मिश्रको हातबाट संयुक्त रुपमा लोकापर्ण गरिएको हो। 

सो अवसरमा उपसभामुख राना मगरले ‘कविताको अन्नप्राशन’ले महिलालाई प्रेरणा दिने बताइन्। मधेसमा महिला हिंसाका घटना सुनिने गरेकामा आफ्नै सासूलाई कविता सङ्ग्रह प्रकाशन गर्न बुहारीले सघाएको सन्देशले अन्य महिलालाई हौसला दिने र साहित्यिक गतिविधि बढाउन मद्दत पुग्ने उनको भनाइ थियो। 

उपसभामुख राना मगरले भनिन्, ‘एउटा बुहारीले सासूलाई पुस्तक लेख्न सघाएको र आफू प्रकाशक बसेको खबरले मलाइ हर्षित बनाएको छ। यसरी महिलाहरूले एकापसमा गर्ने सहकार्यले राम्रो नतिजा दिनाका साथै सामीप्यता र सद्भावलाई बढाउने काम गर्छ। साथै लेखिका मिश्रले विवाह भएर नेपाल आएपछि नेपाली भाषा सिकेर गर्नुभएको यो प्रयासको म प्रशंसा गर्छु।’

आफूले पनि कविता र गीत कोर्ने गरे पनि त्यसलाई पुस्तकको स्वरूप दिन नसकेकाले आफ्ना लागि पनि कवि मिश्रको कविता सङ्ग्रह प्रेरणा भएको उपसभामुख राना मगरले बताइन्।

‘लेखिका मिश्रले नेपाल आएर नेपाली भाषा सिकेर त्यसलाई पुस्तकका रूपमा हामीसम्म ल्याउन सक्नुहुन्छ भने हामी पनि सक्छौँ, म पनि सक्छु। हामीले आफ्नो ऊर्जा यस्ता सकारात्मक कार्यमा खर्चिनु पर्छ’, उनले भनिन्।

उक्त कविता सङ्ग्रहकी लेखिका मिश्रले आफू भारतबाट नेपाल विवाह भएर आएपछि सिकेको भाषा र आफ्नो साहित्यको दक्षतालाई पुस्तकको स्वरूप दिएको बताइन्। 

‘म सन् १९८६ मा नेपाल आएकी हुँ। यहाँ आएपछि भाषा सिकेँ, आज सोही कारण मैले कविता सङ्ग्रह ल्याउन सकेकी हुँ। यो मेरो सुरुआत हो, आउँदा दिनमा पनि म साहित्यलाई निरन्तरता दिन्छु’, उनले  भनिन्। उनले परिवारको साथकै कारण आफूले कोरेका शब्दलाई पुस्तक प्रकाशन गर्न सम्भव भएको बताइन्। पुस्तकमाथि पत्रकार नम्रता शर्मा र रोहित भण्डारीले टिप्पणी राखेका थिए।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad