अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले दलित अभियन्ता खगेन्द्र सुनारलाई साधारण तारेखमा रिहा गर्न आदेश दिएको छ।
अन्तरजातीय प्रेम गरेका नवराज विक र उनका ५ साथीको हत्या मुद्दाका प्रतिवादीहरूलाई उच्च अदालत सुर्खेतले जातीय भेदभाव कसुरमा सफाइ दिँदा न्यायाधीशको विरोध गरेपछि सुनारविरुद्ध सर्वोच्चमा अदालतको अवहेलना मुद्दा परेको हो।
सो मुद्दामा मंगलबार सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीशद्वय कुमार रेग्मी र महेश शर्मा पौडेलको इजलासले सुनुवारलाई साधारण तारेखमा छाड्न आदेश दिएको हो।
सुनारले इजलासमा अदालतको अवहेलनामा मंगलबार बयान गर्दा माफी माग्दै आगामी दिनमा नदोहोर्याउने प्रतिवद्धता गरेका थिए।
‘प्रतिवादी खगेन्द्र सुनारले बयानको क्रममा मेरो कुनै पनि कार्यले प्रतिवेदनमा उल्लेख भए बमोजिमको भाब झल्किन्छ भने सम्मानित अदालत र श्रीमान समक्ष क्षमाप्रार्थी छु र आगामी दिनमा नदोहोर्याउने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु भनि बयान गरेको देखियो’, आदेशमा भनिएको छ।
बयानमा उनले क्षमायाचना गरेको देखिएकाले यो मुद्दाको अन्तिम किनारा लागेका बखत ठहरे बमोजिम हुने उल्लेख गर्दै साधारण तारेखमा राखी मुद्दाको पुर्पक्ष गर्ने आदेश भएको छ।
‘अन्यायविरुद्ध बोल्दा आइपर्ने जस्तोसुकै संकट भोग्न तयार छु तर झुक्न तयार छैन’
साधारण तारेखमा छाड्ने आदेश भएपछि उनले न्यायाधीशद्वयलाई धन्यवाद दिएका छन्।
सुनारले भनेका छन्, ‘ममाथिको मुद्दालाई समुदायमाथिको मुद्दा सम्झेर सामाजिक उत्तरदायित्व वहन गरी यो संकटको घडीमा साथ दिनुहुने ५० जनाभन्दा धेरै वरिष्ठ अधिवक्ता, अन्य अधिवक्ता (दलित-गैरदलित) साथीहरूलाई ससम्मान धन्यवाद।’
यस क्रममा सुनाले आफूहरूको लडाइँ अदालतसँग नभएको उल्लेख गर्दै अदालतबाट न्याय हुने विश्वास रहेको पनि उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘हामीले ल्याएको व्यवस्थाभित्र हामीले नै परिकल्पना गरेको निष्पक्ष न्यायालयको हामी पक्षधर हौँ। तर अदालतभित्रको गलत नियत, प्रवृत्ति र पात्रको सधैँ विरुद्धमा छौँ हामी। अन्यायविरुद्ध बोल्दा आइपर्ने जस्तोसुकै संकट भोग्न तयार छु तर झुक्न तयार छैन। अन्याय र अपमान मान्य छैन।’
सुनारले आगामी दिनमा आन्दोलन थप शसक्त हुने प्रतिबद्धता पनि प्रकट गरेका छन्।
यस्तो छ आदेश-


Shares

प्रतिक्रिया