बाराको रामपुर टोकनीका ५१ वर्षीय युनुस अन्सारी डेढ महिनापछि फेरि जेल फर्किएका छन्। २०६६ सालदेखि सुरु भएको उनको जेल यात्रा यो चौथो पटक हो।
२०६६ साल माघयता उनी जेलबाहिर विरलै बसिरहेका थिए। उनले भारतीय नक्कली नोट, लागूऔषध खैरो हेरोइन र संगठित अपराधका मुद्दा खेपिसकेका थिए।
यसपटक भने उनी सम्पत्ति शुद्धीकरणको कसुरमा केन्द्रीय कारागार सुन्धारा पुग्न बाध्य भएका हुन्।
९ करोड ९ लाख बढीको बिगोमा जिल्ला अदालत काठमाडौँका न्यायाधीश बलराम लम्सालको इजलासले सोमबार अन्सारीसँग १५ लाख रुपैयाँ धरौटी मागेको थियो। तर अदालतले माग गरेको धरौटी उनले बुझाउन सकेनन्। त्योसँगै उनलाई सोमबार केन्द्रीय कारागार सुन्धाराको जगन्नाथ देवलमा चलान गरिएको जिल्ला अदालत काठमाडौंका सूचना अधिकारी दीपककुमार श्रेष्ठले बताए।
अन्सारी नक्कली नोटको कारोबार अभियोगमा जेल भुक्तान गरेर जेठ १० मा रिहा भएका थिए। जेलबाट छुटेलगत्तै उनलाई सम्पत्ति शुद्धीकरणको बाँकी अनुसन्धानका लागि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले लगेको थियो।
युनुसलाई सम्पत्ति शुद्धीकरणको मुद्दामा ९ करोड ९ लाख ५३ हजार ७०९ रुपैयाँ बिगो दाबी गरिएको थियो। यो मुद्दामा अन्सारी अध्यक्ष रहेको नेशनल टेलिभिजन, उनकी पत्नी सालमा खातुन, प्रमिला अधिकारी र सुवेश्वरप्रसाद कुसवाहलाई पनि प्रतिवादी बनाइएको छ। अरुलाई भने खाताको रकम जफतमा मात्रै प्रतिवादी बनाइएको हो।
युनस भने यसअघि २०६६ माघदेखि २०७० असोजसम्म जेल बसेर छुटेका थिए। तर २०७० माघमा फेरि पक्राउ परे र २०७४ चैतसम्म कैद बसे। त्यसपछि २ वर्ष जेलबाहिर बिताएका उनी २०७६ जेठ १० गते पक्राउ परेका थिए। भारतीय नक्कली नोटकै कारोबारमा दोषी ठहर भएर उनले २०८२ जेठ ९ गते कैद भुक्तान गरेका थिए। त्यसपछि डेढ महिना हिरासतमा बिताएका उनी सोमबार ९ करोड बढीको सम्पत्ति शुद्धीकरण मुद्दामा कारागार चलान भएका हुन्।
युनुसको ९ करोड बढीको स्रोत बितिसकेका प्रसाईँ
युनुसले सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धानका क्रममा आफ्नो आम्दानीको स्रोत केही नभएको बताए पनि उनको खातामा भने करोडौँको कारोबार देखिएको छ।
उक्त कारोबारको स्रोत अन्सारीले जग्गाको कारोबार र मृत्यु भइसकेका व्यक्तिलाई देखाएका छन्। पर्सामा आफ्नो नाममा रहेको जग्गा बिक्री गर्न लिएको बैनास्वरूप १ करोड २५ लाख प्राप्त भएको बताएका छन्।
सोही रकमबाट आफूले २०७४ सालमा पुर्पक्षका लागि धरौटी माग हुँदा ५६ लाख रुपैयाँ बुझाएको बताएका छन्। बैनाबापतको बाँकी रकम श्रीमती सालमा खातुनको नाममा जम्मा गरेको बताएका छन्।
पहिलोपटक सन् २००३ मा थाइल्यान्ड गएका अन्सारी त्यसपछि भने दुईपटक पाकिस्तान पुगेका थिए। उनलाई पाकिस्तानी आतंकवादीसँग मिलेर भारतीय जाली नोटको कारोबार गरेको आरोप छ। यसअघि उनी पक्राउ पर्दा पनि पाकिस्तानी नागरिकसहित पक्राउ परेका थिए। उनी पाकिस्तानी नागरिकले विमानस्थलसम्म ल्याइदिएको नक्कली नोट बुझ्दा विमानस्थलबाटै पक्राउ परेका थिए।
उनले सन् २००५ मा आफ्नो भाइ पाकिस्तानमा अध्ययन गर्दा दुईपटक पाकिस्तान पुगेको बयान दिएका छन्। त्यसै वर्ष उनी मलेसिया पनि पुगेको तथ्य फेला परेको छ।
नेपालमा अन्तिम पटक पक्राउ पर्नुपहिले पनि उनी दुवईबाट फर्किएका थिए। २०७५ सालको अन्तिमतिर दुवई गए पनि उनले उद्देश्य भने घुमघाम रहेको बताएका थिए। तर त्यहाँबाट फर्किँदा उनी भारतीय नक्कली नोटसहित पक्राउ परेका हुन्।
नक्कली नोटको कारोबार गरेको भने उनले स्वीकार गरेका छन्। तर यसबाट आम्दानी नगरेको बताएका उनले विभिन्न समयमा गरेको करोडौँ कारोबारको स्रोत झापा घर भएका सीताराम प्रसाईंलाई देखाएका छन्। उनको मृत्यु भइसकेको छ।
नेशनल टेलिभिजनको माछापुच्छ्रे् बैंकमा रहेको खातामा २ करोड ५० लाख रुपैयाँ जम्मा भएको थियो। दोस्रो पटक जम्मा भएको ४ करोड रुपैयाँ पनि प्रसाईंबाटै जम्मा भएको उनको बयान छ।
त्यसपछि चेकमार्फत एक करोड रुपैयाँ पनि सीतारामले नै उनलाई दिएको बताएका छन्। ७ करोड ५० लाख रुपैयाँको स्रोत उनले तीनै प्रसाईंलाई देखाएका छन्।
यस्तै २०७६ सालमा श्रीमतीको नाममा जम्मा भएको एक करोड रुपैयाँको चेक र ५० लाख रुपैयाँ पनि प्रसाईंले नै दिएको बताएका छन्।
त्यसमध्ये २ करोड आफ्नो व्यक्तिगत खर्चका लागि राखेर बाँकी रकम नेशनल टेलिभिजनमा लगाएको उनको बयान छ। सीताराम ट्राभल्स सञ्चालक रहेको र उनीसँग आफ्ना बाबुले कारोबार गर्ने गरेको बयान युनुसको छ।
नेशनल टेलिभिजनमा मात्रै आफ्नो ७ करोड लगानी रहेको बताएका छन्। सन् २००८ मा उनको खातामा १ करोड ८० लाख र एक करोड रुपैयाँ पनि जम्मा भएको देखिएको छ। उक्त रकम पनि भारतीय जाली नोटको कारोबारबाट प्राप्त भएको नभई उनै सीताराममार्फत आएको जिकिर उनको छ।
युनुस लागूऔषध खैरो हेरोइन तथा नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ परेपछि अनुसन्धान हुँदा उनले ५ करोड २ लाख ५० हजार रुपैयाँको टेलिभिजनको सेयर खरिद गरेको भेटिएको थियो। श्रीमतीको नाममा जग्गा खरिद गरेको र विभिन्न बैंकका खातामा पनि रकम जम्मा गरेको खुलेको थियो। तर उनले यी सबै कारोबारको स्रोत प्रसाईं नै भएको बताएका छन्।
तर प्रहरीले उनले अवैध रुपमा आर्जन गरेको सबै सम्पत्ति समेत जफत गर्न माग गरेको थियो। उनलाई सम्पत्ति शुद्धीकरणको कसुरमा बिगोको दोब्बर जरिवाना र २ वर्षदेखि १० वर्षसम्म कैदको माग गरिएको छ। अहिले पुर्पक्षका लागि धरौटी बुझाउन नसकेर कारागार चलान भएका अन्सारी फैसला नहुन्जेल अदालतले माग गरेको धरौटी बुझाउन सकेको खण्डमा भने जुनसुकै बेला थुनामुक्त हुन सक्नेछन्।
Shares

प्रतिक्रिया