समाज


पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा पेसी

पत्रकार दिलभूषण पाठक अदालतमा उपस्थित, न्यायाधीश भट्टको इजलासमा पेसी

नेपालखबर
असार १९, २०८२ बिहिबार १०:५९, काठमाडौँ

साइबर क्राइमको मुद्दा दर्ता भएपछि पत्रकार दिलभूषण पाठक जिल्ला अदालत काठमाडौँमा उपस्थित भएका छन्। 

बिहीबार पाठक अदालतमा उपस्थित भएको र आजैका लागि बयान तथा बहसका लागि न्यायाधीश खेमराज भट्टको इजलासमा पेशी तोकिएको अदालतका सूचना अधिकारी दीपककुमार श्रेष्ठले जानकारी दिए।

पाठकले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्र मन्त्री आरजु राणा देउवाका छोरा जयवीर देउवाको तारे होटल हिल्टनमा लगानी रहेको, अस्ट्रेलिया, क्यानडा, दुबईमा पनि लगानी रहेको सामग्री युट्युबमा प्रसारण गरेको विषयमा नेपाल प्रहरीको साइबर ब्युरोले अनुसन्धान गरेको थियो। 

उक्त कार्यक्रम भिडिओ, स्क्रिनसट, कागजातहरू पनि अभियोग पत्रका साथ पेस गरिएको छ। प्रहरीले पाठकलाई पक्राउ गरेर अनुसन्धान गर्न जिल्ला अदालतबाट अनुमति लिए पनि उच्च अदालत पाटनले पाठकलाई पक्राउ नगर्न अन्तरिम आदेश दिएको थियो। 

सोही कारण पाठकको बयानसमेत नगराई अदालतमा अभियोग पत्र बुझाइएको छ। उनलाई विद्युतीय कारोबार ऐन(२०६३ अन्तर्गत सजाय माग गरिएको छ। उनीविरुद्ध देउवा परिवारले उजुरी दिए पनि अभियोग पत्रमा जाहेरवालाको नाम उल्लेख छैन।  

विद्युतीय कारोबार ऐन ०६३ को दफा ४७ को उपदफा १ बमोजिमको कसुरमा सजाय हुन माग दाबी गरिएको छ। यस्तै हाल फरार भनिएका पाठकलाई मुलुकी फौजदारी कार्यविधि संहिता ०७४ को दफा ५७ बमोजिम अदालतबाट पक्राउ पुर्जी जारी गर्नसमेत माग गरिएको छ।  

उक्त दफाअनुसार कसुरदार ठहरिए १ लाख रुपैयाँसम्म जरिवाना वा ५ वर्षसम्म कैद वा दुवै सजाय हुन सक्ने व्यवस्था छ। पाठकबाट जाहेरवालालाई क्षतिपूर्तिसमेत भराउन माग गरिएको छ।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad