समाज


आज ३० जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित २५ वटामा ‘एल्लो अलर्ट’

आज ३० जिल्लामा बाढीको जोखिम, काठमाडौँसहित २५ वटामा ‘एल्लो अलर्ट’

नेपालखबर
असार १७, २०८२ मंगलबार १०:४६, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १७, मंगलबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ।

बाढी महाशाखाका अनुसार आज कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई वहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्न सक्ने सम्भावना छ। 

नदीका हिसाबले आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै तर बढ्दो रहने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ। 

जिल्लाका हिसाबले चाहिँ आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ। अत: ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ। 

साथै संखुवासभा, रसुवा, कास्की,लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ। 

उल्लिखित २५ जिल्लालाई बाढी महाशाखाले पहेँलो सूचीमा राखेको छ। यसको अर्थ सामान्यभन्दा अलि बढी मध्यम जोखिम छ भन्ने हो।

यसैगरी आज ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोट र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad