समाज


योग्यताको आधारमा उपकुलपति नियुक्त गर्न नेविसंघको माग

योग्यताको आधारमा उपकुलपति नियुक्त गर्न नेविसंघको माग

नेपालखबर
असार १५, २०८२ आइतबार १३:४६, काठमाडौँ

नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपति योग्यताको आधारमा नियुक्त गर्न माग गरेको छ। 

केन्द्रीय अध्यक्ष दुजाङ शेर्पाले त्रिवि मातहतका क्याम्पस इकाइ समितिहरूलाई परिपत्र गर्दै  योग्यता प्रणालीमा आधारित खुला प्रतिस्पर्धाबाट त्रिभुवन विश्वविद्यालयका उपकुलपति नियुक्त गर्न दबाबस्वरुप चरणवद्ध कार्यक्रमहरू गर्न निर्देशन दिएका हुन्। 

नेविसंघले हाल निमित्त व्यवस्थामार्फत सञ्चालन भइरहेको अवस्थामा उपकुलपति नियुक्ति प्रक्रियामा पारदर्शिता र योग्यता प्रणालीको माग गरेको छ। 

अध्यक्ष  शेर्पाले  विश्वविद्यालयका पदाधिकारीहरूले व्यक्तिगत अभीष्ट पूर्तिको उद्देश्यले ऐन विपरीत विनियम, निर्देशिका तथा कार्यविधि निर्माण गरी जारी गरेको विषयमा समेत आपत्ति जनाएका छन्। 

नेपाल विद्यार्थी संघले पटक–पटक सञ्चालन गरेका शैक्षिक आन्दोलन तथा अभियानहरूको उपलब्धिका रूपमा २०८० मा तयार गरिएको उपकुलपति छनोट तथा सिफारिस सम्बन्धी कार्यविधि लाई लत्तयाउँदै, पुनः दलीय भागबण्डाका आधारमा नियुक्ति गर्न बिभिन्न प्रपञ्च रतिएको र उल्लिखित कार्यविधिमा रहेका छिद्रहरुलाई अपारदर्शी र जवाफहिनताको पक्षपोषणमा राजनीतिक दल, विश्वविद्यालयका पदाधिकारी र सरकार आफैँ लागेको गम्भीर आशंका व्यक्त गरिएको पत्रमा उल्लेख गरिएको छ। 

दलीय भागबण्डामा आधारमा गर्न लागिएको नियुक्तिविरुद्ध संयुक्तरुपमा विरोध पत्र तयार गरी बुझाउने, क्याम्पसमा क्रियाशिल संघ, संगठन र स्वतन्त्र समूह समेतहरुलाई अभियानमा जोड्ने र एकीकृतस्वरुपको संयुक्त आन्दोलन गर्ने व्यवस्था गर्न मातहतका सबै क्याम्पस समितिहरुलाई पत्र मार्फत निर्देशन दिएको छ। 

गत चैत्र १५ गते प्रा डा केशरजंग बरालले राजीनामा दिए पछि त्रिविको उपकुलपति पद खाली छ। 

कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ ६ गते सहकुलपति एवं शिक्षामन्त्री रघुजी पन्तको संयोजकत्वमा तीन सदस्यीय उपकुलपति छनोट सिफारिस समिति गठन गरेका छन्। तर, सिफारिस समितिले काम अघि बढाउन सकेको छैन्। सर्च कमिटीले कुलपतिलाई सिधै उपकुलपतिको नाम सिफारिस गर्ने वा खुला आह्वान गर्ने भन्नेमा छलफल गरिरहेको जनाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad