समाज


१०५ औँ मनमोहन जन्मजयन्तीका अवसरमा स्वास्थ्य शिविर आयोजना

१०५ औँ मनमोहन जन्मजयन्तीका अवसरमा स्वास्थ्य शिविर आयोजना

नेपालखबर
असार १२, २०८२ बिहिबार १५:३८, काठमाडौँ

नेपालको लोकतान्त्रिक आन्दोलनका अग्रणी नेता तथा पहिलो निर्वाचित कम्युनिष्ट प्रधानमन्त्री दिवंगत मनमोहन अधिकारीको १०५औँ जन्मजयन्तीका अवसरमा ‘मनमोहन स्मृति प्रतिष्ठान’ले स्वास्थ्य शिविर आयोजना गरेको छ।

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष एवं प्रतिष्ठानका अध्यक्ष ईश्वर पोखरेलले शिविर उद्घाटन गर्दै मानव सेवा नै स्वर्गीय अधिकारीको मूलमन्त्र भएको भन्दै, त्यसै सिद्धान्तलाई जीवित बनाउने यस कार्यक्रमले उनको समाजवादी दृष्टिकोणलाई प्रतिबिम्बित गरेको टिप्पणी गरे। 

प्रतिष्ठानका सचिव हरिप्रसाद काफ्ले शर्माले ललितपुर–सानेपास्थित आफ्नै भवन प्रतिष्ठानलाई कार्यालयका रूपमा दान गरी राष्ट्रसेवाको सतत् आधार तयार पार्न योगदान पुर्‍याएका छन्।

प्रतिष्ठानका कार्यकारी प्रमुख आशिष रेग्मीद्वारा प्रस्तुत विवरण अनुसार, लक्षित समूह ज्येष्ठ नागरिकमध्ये २०० जना सहभागी हुनेगरी स्वास्थ्य शिविर सञ्चालन गरिएको थियो। 

शिविरमा वीर अस्पतालका पूर्वनिर्देशक तथा हाडजोर्नी विशेषज्ञ डा. सन्तोष पौडेल, जेरियाट्रिक विशेषज्ञ डा. उमेश बोगटी, आन्तरिक रोग विशेषज्ञ डा. अनन्त अर्याललगायत वरिष्ठ चिकित्सकहरूले रक्तचाप मापन, रक्तमा ग्लुकोज परीक्षण, हृदय परीक्षण, सामान्य स्वास्थ्य परामर्श, जेरियाट्रिक सल्लाह र आवश्यक औषधि निःशुल्क प्रदान गरे।

चिकित्सकहरूका अनुसार, अधिकांश सेवाग्राहीहरूमा उच्च रक्तचाप, मधुमेह, ग्यास्ट्रिक समस्या, जोर्नी दुखाइ जस्ता समस्या देखिएको थियो। शिविरबाट लाभान्वित सेवाग्राहीले आफ्नो घर नजिकै स्वास्थ्य जाँच र औषधि पाउँदा ठूलो राहत महसुस गरे। 

७५ वर्षीय नन्दलाल महर्जनले अस्पताल पुग्न गाह्रो भएको बताउँदै ‘यसले निकै सहजता दिएको’ भने भने, ५५ वर्षीया दुर्गा खड्काले चिनी जाँच र औषधि पाउन सहज बताइन्।

शिविरपछि आशिष रेग्मीले स्वास्थ्य, शिक्षा र जनचेतना अभिवृद्धिमा तीव्र रुपमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने योजना भएको बताए। ‘जननेता मनमोहनले देखाएको समाजवाद न्याय, समानता र समृद्धिका बाटो हो, त्यसलाई व्यवहारमा उतार्ने हाम्रो लक्ष्य हो,’ उनले स्पष्ट पारे।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad