समाज


सामुदायिक वनमा लाटोकोसेरो संरक्षण गर्न गुलेली प्रतिबन्ध

सामुदायिक वनमा लाटोकोसेरो संरक्षण गर्न गुलेली प्रतिबन्ध

नेपालखबर
असार ८, २०८२ आइतबार १६:४८, काठमाडौँ

लाटोकोसेरोको संरक्षणका लागि स्याङ्जाको पुतलीबजार नगरपालिका–२ स्थित राङ्भाङ भैँसेगौँडा क्षेत्रको रोलबराह र सिम्रिक लेक सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र तथा गुलेली प्रतिबन्ध क्षेत्र घोषणा गरिएको छ।
    
लाटोकोसेरोको संरक्षणमा योगदान पुर्‍याउने लक्ष्यका साथ यहाँका दुई सामुदायिक वनलाई लाटोकोसेरो संरक्षण विशेष क्षेत्र घोषणासँगै गुलेली प्रतिबन्ध लगाइएको संरक्षकर्मी बालकुमार गुरुङले जानकारी दिए। 

उनका अनुसार यस क्षेत्रमा लाटोकोसेरोका सात वटा प्रजाति फेला परेका छन्। लाटोकोसेरोको संरक्षणका साथै यहाँ भेटिएका ११३ वटा बुढा रुखको संरक्षण गर्ने पनि योजना रहेको उनले जानकारी दिए।
    
वरिष्ठ संरक्षणकर्मी एवं प्रकृतिका साथीहरू संस्थाका निर्देशक राजु आचार्यले बेलायतमा पाएको हरित क्षेत्रको ओस्कार मानिने ५० हजार पाउण्ड राशिको विश्व प्रसिद्ध ‘हिट्ली’ संरक्षण पुरस्कारको रकमबाट संरक्षण विशेष क्षेत्र घोषणासँगै गुलेली प्रतिबन्धलगायत कार्यक्रम अघि बढाइएको हो।

उक्त पुस्कारबापतको रकम आचार्यले यसअघि नै गण्डकी प्रदेशमा प्रस्ताव गरेको लाटोकोसेरो संरक्षणको काममा पुरस्कार खर्च गरिने घोषणा गरेका थिए।
    
नेपाल सरकारले बनाएको १० वर्षे ‘लाटोकोसेरो संरक्षण कार्य योजना’ले तोकेको कार्यमा रकम खर्च गरिने योजनाअनुरुप यस कार्यक्रमअन्तर्गत गुलेली नियन्त्रण, बुढा रुखको संरक्षण, कृत्रिम गुँडको वितरण तथा लाटोकोसेरोको अवैध चोरीसिकारी नियन्त्रणलगायत रहेको आचार्यले जानकारी गराए।
    
तनहुँको दुलेगौँडादेखि स्याङ्जाको रामबाछा जोडिने ७२ किलोमिटर दूरीको सहस्राब्दी पदमार्ग (मिलेनियम ट्रेक)को लगभग बीच भागमा पर्ने यी वन रहेको क्षेत्र पर्या–पर्यटनका दृष्टिलेसमेत अत्यन्त महत्वपूर्ण रहेको भैसेगौँडा सामूदायिक होमस्टेका अध्यक्ष समेत रहेका संरक्षणकर्मी बालकुमार गुरुङको भनाइ छ। 

प्रकृतिका साथीहरूले चरणबद्ध रुपमा यही क्षेत्रमा बर्सेनि वन्यजन्तु अनुसन्धान तालिम सञ्चालन गर्दै आएको छ। रासस

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad