समाज


ठेक्का रद्दपछि फेरि अन्योलमा धुलिखेल–खावा सडक

ठेक्का रद्दपछि फेरि अन्योलमा धुलिखेल–खावा सडक

फाइल तस्बिर


नेपालखबर
असार ३, २०८२ मंगलबार १२:११, काठमाडौँ

धुलिखेल–खावा खण्डको चार किलोमिटर सडक विस्तार तथा कालोपत्रे आयोजना अझै अन्योलमा छ। करिब तीन वर्षअघि सुरु गरिएको यो आयोजना निर्माण व्यवसायीको लापरवाही, प्रशासनिक ढिलासुस्ती र अदालती पेचका कारण अलपत्र अवस्थामा पुगेको हो। 

भक्तपुर सडक डिभिजन कार्यालयले २०७९ सालमा गौरी पार्वती कन्स्ट्रक्सन सेवासँग २० करोड १९ लाख रुपैयाँको ठेक्कामा सम्झौता गरी काम सुरु गराएको थियो। सम्झौताअनुसार काम २०८० चैत मसान्तसम्म सकिनुपर्ने थियो। तर निर्माण कम्पनीले तोकिएको समयसीमा पार गरे पनि उल्लेखनीय प्रगति गर्न सकेन। 

प्रगति सन्तोषजनक नभएपछि डिभिजन कार्यालयले ठेक्का रद्ध गरेको छ। तर ठेकेदार कम्पनीले पाटन उच्च अदालतमा रिट दायर गरेपछि अदालतले अन्तरिम आदेशमार्फत पुनः टेण्डर, धरौटी जफत र कालोसूचीकरण रोक्का गर्न निर्देशन दिएको छ। 

यता सडक डिभिजनले पुनः टेण्डरको तयारी गरिसके पनि अदालतको आदेश र अर्थ मन्त्रालयबाट बजेट निकासा नहुँदा प्रक्रिया अघि बढ्न सकेको छैन। डिभिजन प्रमुखकाअनुसार निर्माण कार्य सुरु गर्न तयार भएपनि कानुनी तथा वित्तीय बाधाले परियोजना अलपत्र बनेको हो।

हालसम्म करिब २०–२५ प्रतिशत मात्र आर्थिक प्रगति भएको डिभिजनको दाबी छ। केही स्थानमा नाली निर्माण र पहाड कटान गरिएको भएपनि अधिकांश स्थानमा रोड बेस, ग्राभेल बेस तथा कालोपत्रे गर्न बाँकी छ।

१२ मिटर चौडाइको यो सडक खण्डमा पहिलोपटक २० सेन्टिमिटरको सिमेन्ट ग्राभेल बेस राखी त्यसमाथि डब्लूबीएम र डबल लेयर कालोपत्रे (डेंस बिटुमिनस म्याकाडम र एस्फाल्ट) गर्ने प्रविधि अपनाउने योजना थियो। धुलिखेल हुँदै चीनसहित सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सोलुखुम्बुजस्ता जिल्लातर्फ जाने मुख्य नाकाको रूपमा रहेको यो सडकमा भारी सवारी चाप वहन गर्नसक्ने बनावट तयार गर्ने उद्देश्य थियो।

तर लामो समयसम्म काम रोकिँदा योजनाको उद्देश्य नै संकटमा परेको देखिन्छ। स्थानीयवासी र यात्रुहरू तीन वर्षदेखि धुलो, हिलो, ट्राफिक जाम र दुर्घटनाको जोखिम बीच यात्रा गर्न बाध्य छन्। सडकको निर्माण कार्य फेरि कहिले सुरु हुन्छ भन्नेमा अझै अनिश्चितता रहेको छ। अब अदालतको अन्तिम निर्णय र अर्थ मन्त्रालयको स्वीकृतिपछि मात्र परियोजना पुनः सुरुवात हुने देखिन्छ।
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad