समाज


सञ्चार माध्यमहरूमाथि सरकारी आतंक रोक्न माग गर्दै सर्वोच्चमा पेस भयो निवेदन

सञ्चार माध्यमहरूमाथि सरकारी आतंक रोक्न माग गर्दै सर्वोच्चमा पेस भयो निवेदन

नेपालखबर
असार २, २०८२ सोमबार १६:५०, काठमाडौँ

सञ्चार माध्यमहरूमाथि सरकारी निकायको आतंक रोक्न आग्रह गर्दै सर्वोच्च अदालतमा निवेदन पेस भएको छ।

अधिवक्ता अनन्तराज लुइँटेलले सम्पादक तथा पत्रकारहरूमाथि सरकारमातहतका निकायले समाचार प्रकाशन प्रसारण गरेकै भरमा पक्राउ गर्ने, दु:ख हैरानी दिलाई धरपकड गर्ने सम्मको कार्य भएको उल्लेख गर्दै निवेदन पेस गरेका हुन्।

निवेदनमा उनले अभिव्यक्ति स्वतन्त्रताको निर्बाध उपभोग नरोक्न अन्तरिम आदेशको माग गरेका छन्। सर्वोच्च अदालतमा पेस भएको उक्त निवेदनबारे अध्ययन भइरहेको लुइँटेलले जानकारी दिए। 

उनले २०७६ पुस २४ मा संवैधानिक इजलासमा दायर गरेको रिटमै अभिव्यक्ति स्वतन्त्रतामाथि चुनौती आइरहेको र पत्रकारहरु पक्राउ पर्ने सम्भावना रहेको भनी दायर मुद्दा समेत विचाराधीन रहेकोले सो मुद्दाकै प्रक्रियाबाट सम्पादकमाथिको धरपकड रोक्न अन्तरिम आदेशको माग गरेका छन्। 

उक्त निवेदनमा संवैधानिक इजलासमा विचाराधीन मुद्दाकै पूरक निवेदनको रुपमा हेरी सम्पादक र पत्रकारलाई समाचार लेखेकै भरमा धरपकड नगर्नू भन्ने अन्तरिम आदेश माग गरिएको छ। 

विज्ञापन नियमन गर्ने सम्बन्धमा बनेको ऐन, २०७६ का प्रावधानले सञ्चारमाध्यममाथि राज्यले अंकुश लगाउन सक्ने भन्दै २०७६ सालमा दायर भएको उक्त रिटको अन्तिम सुनुवाइ साउन २८ लाई तोकिएको छ।

उक्त ऐनको दफा ८ को उपदफा (१), (२), दफा १५ उपदफा (ख) मा सञ्चार माध्यमबाट प्रशारण गरिने सामग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षत विज्ञापनमा पूर्वप्रतिबन्ध लगाएको, उपदफा (ङ) मा नभए नगरेको कुराको भ्रम फैलाउने, उत्तेजना फैलाउने, अमर्यादित, भेदभावजन्य वा यस ऐनविपरीत विज्ञापन गरिए वा नगरिएको अनुगमन गर्ने वा गराउने नाममा सञ्चारमाध्यमलाई सरकारमातहतमा राख्न खोजिएको रिटमा दाबी गरिएको छ।

विज्ञापन ऐनको दफा १५ उपदफा (ख) मा सञ्चार माध्यमबाट प्रशारण गरिने सामग्रीको परीक्षण गर्न तोकिएको आधारमा मापदण्ड तयार गर्ने व्यवस्थाले प्रत्यक्षत विज्ञापनमा पूर्वप्रतिबन्ध लगाई अभिव्यक्ति स्वतन्त्रता नै निस्तेज बनाउने उद्देश्य लिएको, दफा २३ (१) मा छापा तथा विद्युतीय सञ्चार माध्यमबाट प्रकाशन तथा प्रशारण हुने विज्ञापनले कानुनबमोजिमको मापदण्ड पूरा गरे या नगरेको विषयमा प्रदेश कानुन बमोजिम सूचना तथा सञ्चार सम्बन्धी विषय हेर्ने मन्त्रालयले अनुगमन तथा नियमन गर्न सक्ने व्यवस्था आपत्तिजनक रहेको र दफा २३ (३) मा नियम वा मापदण्डको पालना नगरेको पाइएमा विज्ञापन बन्द गर्न वा हटाउन सक्नेछ भन्ने व्यवस्था संविधानको धारा १९ को स्पष्ट रुपमा खिलाफमा रहेको दाबी गरिएको छ।

विज्ञापन ऐनको दफा २३ (४) मा सजाय गरिने र उपदफा (५) मा प्रदेश सरकारले नियमनको व्यवस्था निर्धारण गराउने व्यवस्था  उपदफा (४) मा कसूर हुने काम गरेको पाइएमा त्यस्तो व्यक्तिलाई कारबाहीको सिफारिस गरी सम्बन्धित निकायमा पठाउन सकिने व्यवस्था र उपदफा (५) मा समेत स्थानिय निकायले निर्धारण गरे बमोजिम हुनेछ तथा दफा २५ (४)र (५) मा स्पष्ट रुपमा कुनै सम्पादकले समेत ऐनको उल्लेखित व्यवस्थाको प्रतिकूल हुने गरी कुनै कुरा प्रकाशन गरेमा सजायको भागीदार हुने व्यवस्था गरिएको उल्लेख छ ।

उक्त रिटमा अदालतमा विचाराधीन रहिरहेकै अवस्थामा विपक्षी निकाय मातहतबाट सम्पादकहरुलाई समाचार लेखेकै आधारमा धरपकड गर्ने, पक्राउपुर्जी जारी गर्ने लगायतका कार्यहरु भइरहेको भनी चौथो अंग मानिने सञ्चारमाध्यमलाई आतंकित पारी धारा १७, १९ प्रदत्त मौलिक हकको प्रचलनमा असर पर्ने गरी समाचार प्रकाशन, प्रशारण गरेकै भरमा सम्पादक तथा लेखकलाई धरपकड, गर्ने छेकथुन गर्ने तथा हैरानी दिलाउने कार्य नगर्नू नगराउन अन्तरिम आदेश माग गरिएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad