ad ad

समाज


यस्ताे छ कोरोना संक्रमित ८ नेपालीको पछिल्लो अवस्था

यस्ताे छ कोरोना संक्रमित ८ नेपालीको पछिल्लो अवस्था

नेपालखबर
चैत २५, २०७६ मंगलबार १४:३७,

नेपालमा अहिलेसम्म कोरोना संक्रमितको कूल संख्या ९ पुगेको छ। त्यसमा सुरुका एक जना निको भइसकेका छन् भने ८ जना अहिले विभिन्न अस्पतालमा उपचार गराइरहेका छन्।

तीमध्ये काठमाडौंको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा २, बागलुङस्थित धौलागिरि प्रादेशिक अस्पतालमा २ र धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ४ जनाको उपचार भइरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रायलयका अनुसार टेकुमा दोस्रो संक्रमित काठमाडौंकी १९ वर्षीया युवती र तेस्रो संक्रमित धादिङका ३२ वर्षका पुरुष उपचाररत छन्।

यसैगरी धाैलागिरि अस्पतालमा पाँचौ संक्रमित बागलुङकी २२ वर्षकी युवती र छैटौं संक्रमित बागलुङकै ६५ वर्षीया महिला उपचारत छन्।

यस्तै सेती प्रादेशिक अस्पतालमा चौथो संक्रमित कैलालीका ३४ वर्षीय पुरुष, सातौं संक्रमित कैलालीकै २१ वर्षीय पुरुष, आठौं संक्रमित कञ्चनपुरका ४१ वर्षीय पुरुष र नवौं संक्रमित कैलालीकी ३४ वर्षीया महिला उपचारमा छन्। 

अहिले आठै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए।

‘अहिले उहाँहरू सबैलाई ज्वरो, खोकीको लक्षण हराइसकेको छ,’ प्रवक्ता देवकोटाले मंगलबार राति नेपालखबरसँग भने, ‘उहाँहरूको अवस्था सामान्य हुँदै गएको छ।’

प्रवक्ता देवकोटाका अनुसार उनीहरूको अवस्था सम्बन्धित अस्पतालका चिकित्सकले दैनिक जाँच गरिरहेका छन्।

‘स्थिति, अवस्था हेरेर चिकित्सकले उहाँहरूको पटकपटक परीक्षण गर्नुहुनेछ,’ उनले भने, ‘जबसम्म रिपोर्ट नेगेटिभ आउँदैन तबसम्म उहाँहरूलाई घर पठाइन्न।’

संक्रमितमध्ये सबैभन्दा पाको उमेरकी ६५ वर्षीया महिलाको समेत स्वास्थ्य राम्रो हुँदै गएको धौलागिरि प्रादेशिक अस्पतालका चिकित्सकले बताएका छन्।

याे पनि : बाग्लुङकी कोरोना संक्रमित: मोबाइलमा चुट्के सुन्छिन्, झ्यालबाट डाँडा हेरेर दिन कटाउँछिन्

धेरैलाई के लागेको छ भने कोरोना भाइरसको संक्रमण हुनेबित्तिकै मरिन्छ। यही बुझाइले गर्दा पनि यतिबेला कोरोना संक्रमणले भन्दा पनि त्यसको त्रासले मान्छे आतंकित छन्।

तर वास्तविकता के हो भने कोरोना लाग्दैमा मृत्यु हुन्छ भन्ने छैन। यसको खास औषधि र उपचार नभए पनि चिकित्सकको निगरानीमा रहेर स्वास्थ्यकाे नियम पालना तथा लक्षणअनुसार गरिने औषधि/उपचारले कोरोना संक्रमित मानिस निको हुन्छन्।

जसको उदाहरण हाम्रै नेपालमा छ। संक्रमित ९ मध्ये सुरुका १ जना निको भएर पनि आफ्नो नियमित काममा फर्किसकेको धेरै समय भइसकेको छ।

विश्वको ताजा तथ्यांकअनुसार पनि कोरोना संक्रमण लागेका २ लाख ९३ हजार ९ सय १० जना निको भइसकेका छन्।

खासमा कोरोना भाइरसको संक्रमणको दर जति तीव्र छ, त्यस हिसाबले मृत्यु दर धेरै कम छ। अहिलेसम्म विश्वका १३ लाख ६६ हजार ३३५ जना कोरोनाबाट संक्रमित भएका छन्, तर तीमध्ये ७६ हजार ५४५ जनाको मात्रै मृत्यु भएको छ। जुन निको हुने संख्याको तुलनामा झन्डै चार गुणा कम हाे। 

त्यसैले आफूलाई कोरोना लागेको शंका छ भने लुकाउनुभन्दा बेलैमा चिकित्सकसँग सरसल्लाह गरेर उपचार गराउनु बच्ने उत्तम उपाय भएको यस क्षेत्रका विज्ञ बताउँछन्।

यसैबीच नेपालमा मंगलबार कोरोना भाइरसका थप संक्रमित नभेटिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

यस्तो छ ९ संक्रमितको विवरणः
१. पहिलो संक्रमितः चीनबाट फर्केका युवक, गत माघ ९ गते संक्रमण पुष्टि, अहिले निको भइसके।

२. दोस्रो संक्रमितः फ्रान्सबाट फर्केकी १९ वर्षीया युवती, यही चैत ९ गते संक्रमण पुष्टि

३. तेस्रो संक्रमितः यूएईबाट फर्किएका ३२ वर्षीय युवक, चैत १२ गते संक्रमण पुष्टि

४. चौथो संक्रमितः यूएईबाट फर्किएका ३४ वर्षीय युवक, चैत १४ गते संक्रमण पुष्टि

५. पाचौं संक्रमितः बेल्जियमबाट फर्किएकी १९ वर्षीया युवती, चैत १५ गते संक्रमण पुष्टि

६. छैठौं संक्रमितः फ्रान्सबाट कतार हुँदै फर्किएकी बागलुङकी ६५ वर्षीया महिला, चैत २० गते संक्रमण पुष्टि

७. सातौं संक्रमितः भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुष, चैत २२ गते संक्रमण पुष्टि

८. आठौं संक्रमितः भारतको उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरुष, चैत २२ गते संक्रमण पुष्टि

९. नवौं संक्रमितः कैलालीकी ३४ वर्षीया महिला, जो चौथो संक्रमितकी आफन्त हुन्। उनैले यिनलाई कोरोना सारेका हुन्  र स्थानीयमा संक्रमण सरेको यो पहिलो घटना पनि हो। यही घटनापछि नेपाल कोरोना संक्रमणको दोस्रो चरणमा प्रवेश गरेको हो।

 

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .