कास्कीको पोखराका सुनचाँदी पसल सञ्चालक आफ्नै कर्मचारीको हनी ट्र्यापमा परेका छन्। पोखरा महानगरपालिका ४ स्थित सुनचाँदी पसलका सञ्चालकलाई उनकै पसलमा काम गर्ने महिलाले २ जना केटा साथीको सहयोगमा हनी ट्र्यापमा पारेको प्रहरीको दाबी छ।
ती महिलाले दुई जना केटासाथी सँग मिलेर आफूलाई पसलका सञ्चालकले यौन दुव्र्यवहार गरेको भन्दै ५० लाख रुपैयाँ माग्नुपर्छ भनि योजना बनाएको खुलेको छ।सोही योजना अनुसार मोरङ र संखुवासभाका २ जना केटासाथीसँग मिलेर सुनचाँदी पसलका सञ्चालककी श्रीमतीलाई होटलमा बोलाएका थिए।
ती महिलाले आफ्नो लागि जीनदगीभरको लागि पुग्ने धनसम्पत्ती, बस्ने घर र व्यवसायको लागि व्यवस्था गरिदिन माग गरेका थिए। यसका लागि ५० लाख रुपैयाँ नदिए श्रीमानलाई जबर्जस्ती करणीको मुद्दामा फसाइदिने धम्की दिएका थिए।
पीडित महिलाले यसरी रकम माग गरेको जानकारी जिल्ला प्रहरी कार्यालय कास्कीमा गराएकी थिइन्। त्यसपछि खटिएको प्रहरीले कास्कीको पोखरा महानगरपालिका १५ टुटुङ्गाकी २७ वर्षीया मरियम राई, मोरङको बिराटचोकका ३८ वर्षीय देव लिम्बु र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदीलाई पक्राउ गरेको छ।
उनीहरुविरुद्ध थप अनुसन्धानका लागि जिल्ला अदालत कास्कीबाट ७ दिनको म्याद लिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी हरिबहादुर बस्नेतले बताए। उनीहरुलाई आपराधिक विश्वासघात र आपराधिक लाभ सम्बन्धि कसुरमा अनुसन्धान अगाडी बढाएको पनि डीएसपी बस्नेतले बताए।
प्रहरीले उनीहरुको साथबाट रकम बार्गेनिङ गरेको अडियो समेत फेला पारेको छ।
Shares

प्रतिक्रिया