गर्मी अत्यधिक बढेपछि विभिन्न जिल्लामा विद्यालय बन्द हुन थालेका छन्। चितवनको भरतपुर, सुनसरी सदरमुकाम इनरुवा र इटहरी क्षेत्रका विद्यालय बन्द गरिएका हुन्। यसअघि बारा, पर्सा लगायतका जिल्लामा पनि विद्यालय बन्द गरिएका थिए।
आजदेखि यही जेठ ३० गतेसम्मका लागि विद्यालयमा बिदा दिइएको इनरुवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली निरौलाले जानकारी दिए।
इनरुवासहित पूर्वी नेपालमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी बढेको छ। त्यसैगरी इटहरी उपमहानगरपालिकाले समेत गर्मीका कारण एक दिनका लागि सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा बिदा गर्ने निर्णय गरेको छ।
उपमहानगरपालिकाका कार्यवाहक मेयर सङ्गीता चौधरीले मङ्गलबार एक सूचना जारी गर्दै इटहरी क्षेत्रभित्रका सबै विद्यालयमा आज गर्मी बिदा दिने जनाएको हो।
अत्यधिक बढ्दो तापक्रमका कारण विद्यालय सञ्चालनमा कठिनाइ भइरहेको र विद्यार्थीको स्वास्थ्यमा प्रतिकूल असर पर्न थालेकाले बिदा दिएको उनले बताए।
त्यसैगरि गर्मी बढेपछि चितवनको भरतपुरका विद्यालय पनि तीन दिनका लागि बन्द गरिएका छन्।
आजदेखि शुक्रबारसम्मका लागि महानगरले सबै विद्यालयमा सार्वजनिक बिदा दिएको हो।
महानगरका शैक्षिक प्रशासन महाशाखा प्रमुख सुवासचन्द्र आचार्यका अनुसार जेठ २८ गतेदेखि लागू हुने गरी ३० गते शुक्रबारसम्म विद्यालयमा सार्वजिक बिदा दिने निर्णय भएको छ।
बिदाको अवधिमा बालबालिकालाई दिउँसोको समयमा घर बाहिर हिँडडुल नगर्न, नदी पोखरीमा पौडी खेल्न नदिन र माछा मार्ने काममा संलग्न हुन नदिन उनले अभिभावकलाई आग्रह गरे।
चितवनमा पछिल्ला दिनमा तापक्रम ३७ देखि ४० डिग्री सेल्सियससम्म पुग्ने गरेको छ। पछिल्ला दुई दिन अधिक गर्मी महसुस भएको छ।
Shares

प्रतिक्रिया