समाज


पत्रकार महासंघ ललितपुरमा हीरा-सिद्धि पत्रकारिता पुरस्कार स्थापना

पत्रकार महासंघ ललितपुरमा हीरा-सिद्धि पत्रकारिता पुरस्कार स्थापना

नेपालखबर
जेठ २४, २०८२ शनिबार २०:४२, ललितपुर

नेपाल पत्रकार महासंघ ललितपुर शाखाले हीरा–सिद्धि क्रियाशील पत्रकारिता पुरस्कारको घोषणा गरेको छ। 

शनिबार नेपाल पत्रकार महासंंघ ललितपुर शाखाको कार्यमूलक बैठकमार्फत् पाँच लाख रुपैयाँ राशीको अक्षयकोषसहित पुरस्कारको घोषणा गरिएको हो।  

ललितपुरका समाजसेवी सिद्धिबहादुर महर्जनले उनकी स्वर्गीय धर्मपत्नी हिराकुमारी महर्जनको स्मृतिमा महासंघ ललितपुर शाखालाई अक्षयकोष रकम हस्तान्तरण गरेका हुन्। 

अक्षयकोष घोषणा एवं हस्तान्तरण कार्यक्रममा समाजसेवी महर्जन र  महासंघ शाखाका तर्फबाट अध्यक्ष रामहरि कार्कीले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन्। 

पत्रकारिता अक्षयकोष घोषणा गर्दै समाजसेवी महर्जनले सञ्चारकर्मी एवं पत्रकारको हकहित र प्रोत्साहनका निम्ति सहयोग गर्न पाउँदा गौरवान्वित भएको बताए।

कार्यक्रममा वरिष्ठ पत्रकार प्रभुनारायण बस्नेतले महर्जन परिवारले उल्लेखनीय काम गरेको भन्दै प्रशंसा गरे। बस्नेतले भने, ‘यस पुरस्कारले पत्रकारहरुलाई निष्पक्ष र निर्भिक ढङ्गबाट कलम चलाउन प्रोत्साहन मिल्ने छ।’ 

कार्यक्रममा महासंघ ललितपुरका पूर्वअध्यक्ष ज्ञानप्रसाद पौडेलले आफूले नेतृत्व गरेको शाखाले पत्रकारितको विकासको लागि सकारात्मक पहल गर्दा खुसी लागेको बताए। 

नेपाल पत्रकार महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष टेनिस रोकाले उपत्यकाका तीन जिल्लामध्ये ललितपुर शाखा बढी क्रियाशिल रही पत्रकारको हकहितमा काम गर्न सफल भएको बताए। 

कार्यक्रममा महासंघ ललितपुरका अध्यक्ष रामहरी कार्कीले हीरा–सिद्धि पुरस्कार शाखाको हरेक वार्षिक साधारण सभामा जिल्लामा क्रियाशिल दुईजना पत्रकारहरुलाई प्रोत्साहन स्वरुप पुरस्कृत गरिने जानकारी दिए। ‘यो पुरस्कार स्थानीय सरोकार वा धर्म, संस्कृति, कलाका क्षेत्रमा कलम चलाउने क्रियाशिल पत्रकारलाई प्रदान गरिनेछ,’ उनले भने। 

रकम हस्तान्तरणसँगै अक्षयकोष कार्यान्वयनमा आएको शाखा सचिव दीपक अर्यालले बताए । 

कार्यक्रममा स्वर्गीय हीराकुमारी महर्जनका छोराहरु प्रेम सिंह महर्जन र सरोज डंगोलको पनि उपस्थिति थियो।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad