झापामा आज पोखरीमा डुबेर दुई बालकको मृत्यु भएको छ।
अर्जुनधारा नगरपालिका–११ स्थित नमुना सामुदायिक वनभित्र रहेको पोखरीमा डुबेर शनिबार दुई बालकको मृत्यु भएको हो।
मृत्यु हुनेमा तेह्रथुमको जिरीखिम्ती घर भई हाल अर्जुनधारा–११ निवासी पूर्णबहादुर राईको घरमा पाहुना आएका १२ वर्षीय महसुस गुरुङ र १० वर्षीय सुजल गुरुङ रहेका जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र खड्काले जानकारी दिए।
शनिबार बिहान ८ बजे दुवै बालक पौडी खेल्न भन्दै सामुदायिक वनभित्रको पोखरीमा गएका थिए। स्थानीय बासिन्दाले उनीहरु पोखरीमा डुबेको थाहा पाएपछि उद्धार गरेर उपचारका लागि बिर्तामोडको बीएन्डसी अस्पताल पुर्याएका थिए।
अस्पतालका चिकित्सकले बिहान ८ः३० बजेतिर दुवै बालकको मृत्यु भइसकेको घोषणा गरेका हुन्। हाल दुवै बालकको शव अस्पतालमै राखिएको छ। घटनाका सम्बन्धमा थप अनुसन्धान जारी रहेको डीएसपी खड्काले बताए।
Shares

प्रतिक्रिया