कृषि तथा पशुपंक्षी विकासमन्त्री रामनाथ अधिकारीले खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरु वैज्ञानिक विधिहरुको प्रयोगबाट हुँदै आइरहेको बताएका छन्।
विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अधिकारीले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन, निरीक्षण तथा जाँचका कार्यहरुलाई तिब्रता दिइएको बताए।
उनले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ जाँच र नियमन गर्न यसै वर्षदेखि मोबाइल ल्याब भ्यान परिचालन गरिएको जानकारी दिए।
मन्त्री अधिकारीले आम नागरिकले दैनिक उपभोग गर्ने खाना सुरक्षित गराउनका लागि राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगेको बताए।
मन्त्री अधिकारीको भनाइ छः
संयुक्त राष्ट्रसंघले यस वर्ष तय गरेको ‘खाद्य पदार्थमा स्वच्छता, विज्ञानको अपरिहार्यता’ भन्ने जुन उद्देश्य बोकेर नागरिकहरुका माझमा अन्तर्राष्ट्रिय रुपमा आएको छ यसलाई हामीले मनाउनेमात्र होइन व्यवहारमा कुन ढंगबाट लागु गर्न सकिन्छ भन्ने कुरा महत्वपूर्ण हो। यसका लागि नेपाल सरकार कृषि तथा पशुपंक्षी विकास मन्त्रालय, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले आम उपभोक्ताको स्वास्थ्यलाई प्राथमिकतामा राखी खाद्य पदार्थको अनुगमन निरीक्षण तथा जाँच परीक्षणका कार्यहरु वैज्ञानिक विधिहरुको अबलम्बन गर्दै आइरहेको छ।
हामीले यी कुरा भनिरहँदा बजारमा किन अखाद्य वस्तु विक्री हुन्छ त भन्ने प्रश्न पनि हामीसँग त्यत्तिकै आइरहेको छ। सरकारले स्वदेशमा उत्पादन हुने र आयात हुने खाद्य पदार्थहरुको कडाइका साथ नियमन गर्न हरेक आर्थिक वर्षमा बजेट र कार्यक्रमको व्यवस्था गरेको हुन्छ। चालु आबमा हामीले मोबाइल ल्याब, भ्यान परिचालन गरी बजार तथा उद्योगको अनुगमन गरी अन द स्पट जाँच परीक्षण गरिरहेका छौं। यसले उपभोक्तामा सकारात्मक सन्देश दिनुको साथै नियमन कार्यमा थप प्रभावकारीता देखिएको छ।
मानिसले दैनिक खाने खाना सुरक्षित गराउनका लागि स्पष्ट दिशा निर्देश होस् भन्ने उद्देश्यले सरकारले राष्ट्रिय खाद्य स्वच्छता नीति कार्यान्वयनमा लगिसकेको छ। सो नीतिले परिकल्पना गरेको खाद्य स्वच्छता परिषद्को लागि हामीले गृहकार्य अगाडि बढाइरहेका छौं। नीतिको प्रभावकारी कार्यान्वयनका लागि आवश्यक पर्ने कानुनका लागि करिव छ दशक पश्चात खाद्य ऐन २०२३ लाई परिमार्जन गरि २०८१ मा खाद्य स्वच्छता तथा गुणस्तर ऐन संसदले पास गरेर गत साउनदेखि कार्यान्वयनको चरणमा आएका छौं।
ऐनले समय सापेक्ष वैज्ञानिक पद्धतिको आधारमा खाद्य श्रृंखलाका प्रत्येक चरणहरुमा खाद्य स्वच्छता तथा गुणस्तरीयताको सुनिश्चितताका साथै खाद्य उद्योगलाई व्यापारमा सहजीकरण गर्ने उद्देश्य लिएको छ।
Shares

प्रतिक्रिया