आज (जेठ २१, बुधबार) राति पनि देशभर विभिन्न स्थानमा वर्षा जारी रहने सम्भावना छ।
मौसम पूर्वानुमान महाशाखाले अघि साँझ ६ बजे जारी गरेको बुलेटिनअनुसार राति कोसी प्रदेश, मधेस प्रदेश र बागमती प्रदेशका केही स्थान, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ।
साथै कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एक-दुई स्थानमा हल्का वर्षा/ हिमपात हुने सम्भावना पनि रहेको महाशाखाले जनाएको छ।
हाल देशका पश्चिम र मध्य क्षेत्रमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ भने कोसी प्रदेशका अधिकांश स्थानमा मनसुनी वायुको प्रभाव छ।
मौसमविद्का अनुसार २४ घण्टाभित्र १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।
Shares

प्रतिक्रिया