समाज


जेनेभामा सशस्त्रका आईजीपी अर्यालले भने- विपद् व्यवस्थापनमा हाम्रो अनुभव सबै राष्ट्रमा उपयोगी छ

जेनेभामा सशस्त्रका आईजीपी अर्यालले भने- विपद् व्यवस्थापनमा हाम्रो अनुभव सबै राष्ट्रमा उपयोगी छ

नेपालखबर
जेठ २१, २०८२ बुधबार १२:११, काठमाडौँ

स्विट्जरल्यान्डको जेनेभा पुगेका सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले विपद् व्यवस्थापनमा नेपालको अनुभव सुनाएका छन्। 

जेनेभामा सञ्चालन भइरहेको विपद् जोखिम न्यूनीकरणको लागि विश्वव्यापी प्लेटफर्मको आठौँ सत्रलाई सम्बोधन गर्दै अर्यालले सशस्त्र प्रहरी बल नेपालको विपद् व्यवस्थापन तालिम शिक्षालय र पर्वतीय उद्धार तालिम शिक्षालय स्थापना भई विपद् व्यवस्थापनसँग सम्बन्धित उच्चस्तरीय तालिम सञ्चालन गरी दक्ष जनशक्ति उत्पादन गरिरहेको बताए।

विपद् स्वयंसेवक तथा विपद् सूचकहरूको सञ्जालमार्फत विपद्को पूर्व जानकारी, परिचालन, उद्धार एवं राहत कार्य प्रभावकारी हुने पनि अर्यालले बताएका सशप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए। 

समुदाय विपद् स्वयंसेवक तथा विपद् सूचकमार्फत भौगोलिक तथा विपद्जन्य अवस्थामा छिटो सूचना प्राप्त हुने र यसले विपद् व्यवस्थापनमा सहज बनाउने भएकोले सशस्त्रले यसलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको आईजीपी अर्यालको भनाइ छ। 

अन्तरनिकाय समन्वय र यससँग सम्बन्धित डाटाको आदान–प्रदान, युवा तथा समुदायलाई अग्रपंक्तिमा राखेर विपद्को सामना गर्न सकिने भएकोले जलवायु परिवर्तनको संवेदनशीलतालाई दृष्टिगत गरेर नेपालले हालै सगरमाथा संवादमार्फत विश्व संवादको थालनी गरेको समेत बताएका छन्। 

नेपाल प्राकृतिक विपद्हरूको अग्रपंक्तिमा रहेकोले यस्ता प्रकारका चुनौती सामना गर्न र विपद् जोखिम न्यूनीकरण गर्न दृढ रहेको बताउँदै विपद्को सामना गर्न एक्लो प्रयासले मात्र सम्भव नहुने भएकोले यसमा विश्व समुदायको सामुहिक प्रयास अन्तर निकाय समन्वय  हुनेपर्नेमा जोड दिए। 

नेपाली भूगोल समुन्द्री सतहबाट ५९ मिटरदेखि ८४ मिटर अग्लो विश्वको सर्वोच्च शिखर सगरमाथासम्म रहेकाले भूकम्प, बाढी, पहिरो, चट्याङजस्ता प्रकोपहरूको सामना गरिरहेको तथा स्थानीय रुपमा गरिएको कार्य तथा विश्वव्यापी रणनीतिहरूमा एकसाथ अघि बढ्न सकिने आईजीपी अर्यालले बताए। 

होचो भूभागदेखि अग्लो भूभागसम्म नेपालका सुरक्षाकर्मीले विपद्मा गरेको अनुभव र कार्यकुशलता विश्वको जुनसुकै राष्ट्रमा पनि उपयोग हुनेसमेत महानिरीक्षक अर्यालको दाबी छ। कार्यक्रममा गृहसचिव गोकर्णमणि दुवाडी पनि सहभागी छन्।


 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad