यहाँका एक अटोचालकले क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिँदै आएका छन्। उनले हरेक दिन बिहान ७ : ०० देखि १० : ०० बजेसम्म नारायणगढको पुल्चोकबाट बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालसम्म निःशुल्क सेवा दिँदै आएका छन्।
विगत चार वर्षदेखि भरतपुरमा अटो चलाउँदै आउनुभएका उनले धेरै क्यान्सर बिरामीका कथा सुने। कतिपय बिरामीले उपचारमा सम्पत्ति सकिएको, औषधि किन्न पैसा नभएको, खाना र बस्न पनि समस्या भएको आफ्नो दुखेसो अटोमा चढ्दै गर्दा उनीसँग पोख्थे।
उनले भने, ‘मैले आफ्नो अटोबाट केही सहयोग गर्न सक्छु भने किन नगर्ने? भनेर निःशुल्क सेवा सुरु गरेँ।’ यही सोचले उनले गएको मातातीर्थ औँसीदेखि निःशुल्क सेवा सुरु गरेका हुन्। उनले हरेक बिहान ७ : ०० देखि १० : ०० बजेसम्म पुल्चोकबाट बिपी कोइराला क्यान्सर अस्पतालसम्म बिरामी र तिनका आफन्तलाई निःशुल्क दिँदै आएका छन्।
दश बजेपछि पनि कोही बिरामी भेटिए आफन्तसहित तीन जना छन् एकजना बिरामीको भाडा उनले लिँदैनन्। बाटोमा बुढाबुढी हिँडिरहेको देखे भने पनि उनले उनीहरूलाई निःशुल्क गन्तव्यसम्म पुर्याउँछन्। त्यसो त अन्य समयमा युवक अर्यालले व्यावसायिक रूपमा अटो चलाउँछन् र त्यही आम्दानीले परिवार चलाएका छन्।
विदेश जाने तयारीमा रहेका युवक अर्यालले आफ्नो मामाको विदेश अनुभव सुनेपछि स्वदेशमा नै केही गर्ने अठोट लिएको सुनाए। उनले भने, ‘आफ्नै देशमा बसेर आफ्नो काम गर्दै केही समय दुःखीको सेवा गर्न चाहन्छु।’ सेवाका लागि धन होइन, मन चाहिने दृष्टान्त उनले प्रस्तुत गरेका छन्। रासस
Shares

प्रतिक्रिया