नर्भिक अस्पतालले नेपाल सरकारलाई एक हजार थान पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट (पीपीई) हस्तान्तरण गरेको छ।
कोरोना भाइरसको उपचारका क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने एक हजार पीपीई स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण गरेको नर्भिक अस्पतालका अध्यक्ष बसन्त चौधरीले जानकारी दिए।
उनले सामाजिक सञ्जाल ट्विटमार्फत प्रति पीपीईको खरिद मूल्य तीन हजार तीन सय रुपैयाँ परेको बताएका छन्। यसको बजार मूल्य १५ हजार रुपैयाँ रहेको छ।
नर्भिक अस्पताल तथा वसन्त चौधरी फाउन्डेसनका प्रतिनिधिले मन्त्री ढाकाललाई रु ६० लाख बराबरको स्वास्थ्यजन्य सामग्री हस्तान्तरण गरेका थिए।
फाउन्डेसनले थ्री एम एन९५ मास्क दुई हजार थान, थ्री प्ले सर्जिकल मास्क ४८ हजार थान तथा मेडिकल कम्प्लिट सेट एक हजार थान मन्त्रालयलाई उपलब्ध गराएको हो। नर्भिक अस्पतालले चैत मसान्तसम्म उक्त अस्पतालमा उपचाररत सबै बिरामीलाई २० प्रतिशत छुट दिने सो अवसरमा फाउन्डेसनले मन्त्री ढकाललाई जानकारी गराएको थियो।
फिभर क्लिनिक र आइसोलेसन कक्षमा उपचार गराउने विपन्न बिरामीलाई निःशुल्क उपचारको व्यवस्था मिलाइएको सो अस्पतालले जनाएको छ। सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा फाउन्डेसनले यसअघि नै रु ५० लाख उपलब्ध गराइसकेको छ।

प्रतिक्रिया