ad ad

समाज


यी प्रधानमन्त्री जो कोरोना संक्रमितको उपचारमा आफैँ संलग्न छन्

यी प्रधानमन्त्री जो कोरोना संक्रमितको उपचारमा आफैँ संलग्न छन्

नेपालखबर
चैत २४, २०७६ सोमबार ५:४८,

अहिले कोरोना महामारीले विश्व आतंकित भइरहँदा उत्तरी एट्लान्टिक टापु देश आयरल्यान्ड त्यसबाट अछुतो छैन। त्यहाँ कोरोना महामारी नियन्त्रण र उपचारका लागि अपनाएका विधिहरु युरोपेली देशरुसँग मिल्दाजुल्दा छन्। तर यसको पछाडिका कथाहरु फरक छन्।

आइरिस भाषामा सरकार प्रमुखलाई ‘टिसेक’ भनिन्छ। टिसेकको अर्थ प्रधानमन्त्री पनि भन्ने हो। लियो भारडकार सन् २०१७ जुनदेखि आयरल्याण्डमा प्रधानमन्त्री छन्। राजनीतिकशास्त्रले प्रधानमन्त्रीको जिम्मेवारी देशलाई शासन गर्ने भनेर व्याख्या गर्छ। तर कोरोना महामारीको यो समयमा प्रधानमन्त्री लियोले केही फरक काम गरेर देखाएका छन्।

आइरिस टाइम्सका अनुसार प्रधानमन्त्री लियो कोरोनाविरुद्धका निर्णय गर्छन्। अनि संक्रमितको उपचारमा समेत आफैँ खटिन्छन्, एउटा चिकित्सकको रुपमा, प्रधानमन्त्री होइन। उनले आधिकारिक रुपमै घोषणा गरेका छन्, ‘साताको एक दिन म डाक्टरको रुपमा कोरोना संक्रमितको उपचार गर्नेछु।’

आफैँ उपचारमा परिचालन हुुनुअघि उनले स्वास्थ्य सेवा कार्यकारीको कार्यालयमा गएर काम गरेका थिए। कोरोना उपचारका लागि थप स्वास्थ्यकर्मी जरुरत रहेको भनेर त्यहाँबाट उनले आह्वान गरे, ‘जनस्वास्थ्य क्षेत्रमा काम नगरी बसेका स्वास्थ्यकर्मीलाई दर्ता हुन आह्वान गर्दछु।’ उनको आह्वानपछि अहिले हजारौं नर्स, डाक्टर, मेडिकल विद्यार्थी तथा विदेशमा रहेका चिकित्सक कोरोना उपचारमा काम गर्न इच्छा प्रकट गर्दै नाम दर्ता गरिरहेछन्।

‘प्रधानमन्त्रीका परिवार सदस्य तथा साथीहरु धेरै स्वास्थ्य सेवामा काम गर्छन्। सायद त्यही भएर हुनुपर्छ कोरोना उपचारमा उनले आफैँ सहभागी हुन चाहेका हुन्’, प्रधानमन्त्रीका प्रवक्ताले भनेका छन्। आयरल्यान्डको पत्रिका आइरिस टाइम्सका अनुसार उनी डाक्टर र नर्सका छोरा हुन्। उनका पार्टनर समेत डाक्टर नै छन्।

लियो राजनीतिमा प्रवेश गर्नुअघि चिकित्सा पेशामै थिए। सन् २०१० मा राजधानी डब्लिनमा जुनियर डाक्टरको रुपमा उनले काम गरेका थिए। सन् २०१३ मा मेडिकल रजिष्टारको पद त्यागेर राजनीतिमा प्रवेश गरेका उनी सन् २०१४ देखि दुई वर्षसम्म स्वास्थ्यमन्त्रीको भूमिकामा थिए।

आयरल्यान्डमा सोमबारसम्म कोरोना भाइरस (कोभिड—१९) बाट १५८ जनाले ज्यान गुमाएका छन्। ५ हजार संक्रमित छन्। विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले पछिल्लो समय सो देशमा संक्रमण र मृत्युका नयाँ घटना नदेखिएको उल्लेख गरेको छ। (द गार्डियनबाट अनुवाद)

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .