समाज


मौसम विभागले भन्यो: यसपालि मनसुन छिटो, यसै साता प्रवेश गर्ने सम्भावना देखियो

मौसम विभागले भन्यो: यसपालि मनसुन छिटो, यसै साता प्रवेश गर्ने सम्भावना देखियो

प्रतीकात्मक तस्बिर


नेपालखबर
जेठ १३, २०८२ मंगलबार १९:१५, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले मनसुन सरदर मितिभन्दा छिट्टै, यसै साता प्रवेश गर्ने सम्भावना देखिएको बताएको छ। 

महाशाखाले आज जेठ १३ गते साँझ ६ बजे मनसुन आगमन अनुगमन बुलेटिन-१ जारी गरी नेपालको पूर्वी क्षेत्रमा मनसुन प्रवेश गर्ने सरदर मिति जुन १३ तारिख भए पनि यसपटक अगाडि नै आउने संकेत देखिएको जानकारी दिएको हो।

‘आज मिति २०८२ /०२ / १३ गते मंगलबार भारतको आसामका केही भूभाग तथा भुटान र बंगलादेशको पूर्वी भूभागसम्म मनसुनको आगमन भएको देखिन्छ’, महाशाखाले विज्ञप्तिमा भनेको छ, ‘नेपालको पूर्वी भूभागबाट मनसुनको आगमन हुने सरदर मिति जुन १३ तारिख हो तर यस वर्षको मनसुन आगमन सरदरभन्दा छिटो हुने देखिन्छ। भू-उपग्रहबाट प्राप्त बादलका तस्बिर, वायुमण्डलीय तथा मौसम मोडेलबाट प्राप्त तथ्यांक विश्लेषणका आधारमा यस वर्षको मनसुन यसै साताको अन्त्यसम्ममा नेपालको पूर्वी क्षेत्रबाट प्रवेश हुने सम्भावना देखिएको छ।’

हेर्नुहोस् सूचना-

नेपालमा मनसुन भित्रिने औसत मिति जुन १३ तारिख हो। तर ठ्याक्कै यही मितिमा मनसुन भित्रिने गरेको छैन। कि २/४ दिन ढिलो कि छिटो भित्रिने गरेको छ। 

यसपटक भने औसत मितिभन्दा झन्डै एक साताअघि मनसुन नेपाल प्रवेश गर्ने सम्भावना देखिएको हो। 

गत वर्ष पनि मनसुन औसत मितिभन्दा ३ दिनअघि जुन १० तारिखका दिन नेपाल भित्रिएको थियो।

मनसुन भित्रिएपछि बर्खा सुरु भएको मानिन्छ। अहिले भने नेपालमा मनसुन भित्रिनुअघिको सिजन प्रि-मनसुन चलिरहेको छ। मनसुन भित्रिएपछि यो सिजन अन्त्य हुन्छ। 

यसपटक मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण जल तथा मौसम विज्ञान विभागले गरेको छ। 

मौसमविद्का अनुसार नेपालमा मनसुन जुन, जुलाई, अगस्ट र सेप्टेम्बर ४ महिना रहन्छ। नेपालबाट मनसुन बाहिरिने औसत मिति अक्टोबर २ तारिख हो। तर यसमा पनि केही दिन तलमाथि हुन्छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad