समाज


यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी

तयारी अवस्थामा नबसे ठूलो क्षति हुने चेतावनी
यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी

नेपालखबर
जेठ ७, २०८२ बुधबार १६:२७, काठमाडौँ

जल तथा मौसम विज्ञान विभागले यस वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने प्रक्षेपण गरेको छ।

बुधबार विभागले ललितपुरमा आयोजना गरेको ‘राष्ट्रिय मनसुन फोरम–२०८२’ मा मौसमविद्हरूले यस्तो प्रक्षेपण सार्वजनिक गरेका हुन्। 

विभागका वरिष्ठ मौसमविद् विभूति पोख्रेलले यो वर्षको मनसुन अवधिमा सरदरभन्दा बढी वर्षा र गर्मी हुने बताइन्। उनले देशभरका स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत वर्षा हुने सम्भावना रहेको बताइन्। यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना रहेको उनले जानकारी दिइन्।

उनले तापक्रम पनि स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५ प्रतिशत र ३५ देखि ४५ प्रतिशत हुने बताइन्।

यस्तै, यस वर्षको मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको जानकारी दिइन्।

उनले भनिन्, ‘मनसुन ऋतुको वर्षाको आकलन चाहिँ यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना रहेको छ। सरदरभन्दा बढी वर्षा हुने सम्भावना स्थानअनुसार ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। यस्तै, यस वर्षको मनसुन ऋतुको अधिकतम तापक्रम देशभर सरदरभन्दा बढी हुने सम्भावना रहेको छ। यो पनि ५५ देखि ६५ प्रतिशत, ४५ देखि ५५, ३५ देखि ४५ प्रतिशत रहेको छ। मनसुन ऋतुको न्यूनतम तापक्रमको आकलन पनि यस वर्ष पनि विगत वर्षजस्तै सरदरभन्दा बढी हुने सम्भावना रहेको छ।’

विभागका वरिष्ठ मौसमविद् प्रतिभा मानन्धरले नेपालको परिप्रेक्ष्यमा ८० प्रतिशत वर्षा मनसुनको सिजनमा हुने गरेको भन्दै यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न तयारी अवस्थामा बस्नुपर्ने बताइन्। उनले १२ महिनामध्ये लगभग ४० प्रतिशत विपद्हरू मनसुनको अवधिमा हुने बताइन्।

यो अवधिमा पहिरो–बाढीको जोखिम, धनजनको क्षति र अन्य विपद्का घटनाहरू बढी हुने भएकोले तयारी अवस्थामा बस्नुपर्ने उनको भनाई थियो।

यस्तै, उनले मनसुन अगावै तयारी अवस्थामा रहेको खण्डमा धनजनको जोखिमलाई न्यूनीकरण गर्न सकिने विश्वास व्यक्त गरिन्।

जुनदेखि सेप्टेम्बर महिनासम्मको अवधिलाई मनसुनको अवधि मानिन्छ। मनसुनको समयमा नेपालमा हरेक वर्ष तीन सय बढीको ज्यान जाने र २ सय मिलियन डलरभन्दा बढी क्षति हुने गरेको विभागले जनाएको छ।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad