मनसुन सुरु हुनै लागेको र यस वर्ष सरदरभन्दा बढी वर्षा हुने सम्भावना देखिएकाले विपद्बाट बच्न सावधानी अपनाउनुपर्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।
मौसम विज्ञान विभागले सोमबार भिडिओ सन्देश जारी गर्दै यही जेठ १८ गतेदेखि असोज ४ गतेसम्म ४ महिनाको अवधिमा देशका धेरैजसो ठाउँमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना देखिएको जानकारी दिएको हो।
विभागका मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार मध्य जेठदेखि मध्य असोजसम्मको अवधिलाई मनसुन अवधि भनिन्छ।
कुन-कुन प्रदेशमा छ सरदरभन्दा बढी वर्षाको सम्भावना?
खनालका अनुसार सरदरभन्दा बढी पानी पर्ने सम्भावना कर्णाली, लुम्बिनी, गण्डकी र बागमती प्रदेशमा देखिएको छ। कर्णाली प्रदेशको पूर्वी भूभाग, लुम्बिनी प्रदेशको उत्तरी भूभाग र गण्डकी प्रदेशका अधिकांश भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ५५ देखि ६५ प्रतिशत छ।
यस्तै सुदूरपश्चिम प्रदेशको दक्षिणी भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभाग, गण्डकी प्रदेशको उत्तर–पूर्वी भूभाग, बागमती र कोसी प्रदेशका उत्तरी भूभागमा सरदरभन्दा बढी पानी पर्ने सम्भावना ४५ देखि ५५ प्रतिशत छ।
मधेस प्रदेशका पूर्वी तथा दक्षिणी भूभागमा सरदर वर्षा हुने सम्भावना ३५ देखि ४५ प्रतिशत छ। मधेस प्रदेशको समतल भूभागमा सरदर वर्षा हुने सम्भावना छ।
सरदर वर्षा भनेको के हो?
कुनै पनि ठाउँको सरदर वर्षा थाहा पाउन ३० वर्षको पानी परेको तथ्यांक अध्ययन गर्नुपर्छ। यसलाई टर्साइल क्याटागोरी भनिन्छ। यसका लागि ३० वर्षभन्दा लामो हरेक सालको वर्षालाई थोरैदेखि धेरैको क्रमलाई मिलाएर राखिन्छ।
अनि ३३.३ र ६६.६ प्रतिशतकले टुक्र्याई ३ बराबर भागमा विभाजन गरिन्छ। ३३.३ प्रतिशत वा त्यो भन्दा थोरै पानी पर्यो भने सरदरभन्दा कम पानी परेको भनिन्छ।
३३.३ प्रतिशतदेखि ६६.६ प्रतिशत बीचमा पानी पर्यो भने सरदर पानी परेको भनिन्छ। त्यसैगरी ६६.६ प्रतिशतभन्दा बढी पानी पर्यो भने सरदरभन्दा बढी पानी परेको भनिन्छ।
मौसम विज्ञान सहायक सुरेश खनालका अनुसार यस वर्ष मनसुनमा तापक्रम पनि सरदरभन्दा बढी हुने सम्भावना छ। सरदरभन्दा बढी पानी पर्ने र तापक्रम पनि बढी हुने भएकाले यसको असर धेरै क्षेत्रमा पर्ने देखिन्छ।
कृषिमा असर: सरदरभन्दा बढी वर्षा हुँदा बाढी आउने तथा पानी जम्ने समस्या हुन सक्छ। बालीमा लाग्ने रोग बढ्न सक्छ। बढी तापक्रमको असर पनि बालीनालीमा पर्न सक्छ।
स्वास्थ्यमा असरः सरदरभन्दा बढी पानी पर्दा मलेरिया, डेंगी, हैजा, झाडापखालाजस्ता रोग फैलिन सक्छ। सरदरभन्दा बढी तापक्रमका कारण वृद्ध, बालबालिकाहरूमा गर्मीको असर पर्न सक्छ। जलस्रोतमा असरः सरदरभन्दा बढी पानी पर्नाले नदीनालामा बाढी आउन सक्छ।
यातायात तथा पूर्वाधारमा असरः सरदरभन्दा बढी पानी पर्दा सडक, पोल पूर्वाधारमा क्षति हुन सक्छ। ठूलो पानी र बाढीले यातायात प्रभावित हुन सक्छ। यी कारणले विपद्का घटना बढ्न सक्छन्।
यसैले यस वर्ष मनसुन अवधिमा बढी सावधानी अपनाउन जल तथा मौसम विज्ञान विभागले दिएको छ।
भिडिओमा सुन्नुहोस्-
Shares

प्रतिक्रिया