समाज


६ वर्ष जेल बसेर छुटेका युनुसलाई सीआईबीले लग्यो, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने

६ वर्ष जेल बसेर छुटेका युनुसलाई सीआईबीले लग्यो, सम्पत्ति शुद्धीकरणमा अनुसन्धान गर्ने

फाइल फोटो : युनुस अन्सारी (मास्क नलगाएका)


नेपालखबर
जेठ ११, २०८२ आइतबार १४:३६, काठमाडौँ

भारतीय नक्कली नोटको कारोबारमा ६ वर्ष कैद भुक्तान गरेर रिहा भएका बाराका युनुस अन्सारी फेरि पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शनिबार ललितपुरको नक्खु कारागारबाट छुटे लगतै उनलाई पक्राउ गरेको हो।

अन्सारीमाथि सम्पत्ति शुद्धीकरणको मुद्दामा अनुसन्धान अगाडी बढाउने सीआईबीका प्रवक्ता एसपी युवराज खड्काले बताए। अन्सारीलाई सीआईबीले उक्त मुद्दामा अनुसन्धान थाल्न म्याद थपका लागि आज आइतबार नै अदालतमा उपस्थित गराउने भएको छ।

रिहा हुने भएपछि सीआईबीले यसअघि नै अन्सारीलाई आफ्नो जिम्मा लगाइदिन कारागारलाई पत्र पठाएको थियो।

अन्सारी भारतीय नक्कली नोटको कारोबारमा संलग्न रहेको आरोपमा चौथो पटक पक्राउ परेका थिए। त्यसअघि नै तीन पटक पक्राउ परिसकेका उनी सजाय भुक्तान गरेर छुटिसकेपछि पनि पुनः सोही अभियोगमा पक्राउ पर्दै आएका थिए। 

पछिल्लो पटक २०७६ जेठ १० गते ७ करोड ६७ लाख ९४ हजार भारतीय नक्कली नोटसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका थिए।

सोही मुद्दामा दोषी ठहर गर्दै ६ वर्ष कैद, ६० हजार जरिवाना र १३ सय रुपैयाँ क्षतिपूर्तिको सजाय सुनाएको थियो। उक्त कैद शनिबार भुक्तान गरेका हुन्।

त्यसअघि पनि उनी तीन पटक पक्राउ परिसकेका थिए। २०६६ पुस १३ गते २५ लाख ४४ हजार ५ सय भारतीय नक्कली नोटसहित पक्राउ परेका थिए। यो मुद्दामा पुर्पक्षका लागि थुनामा गएका उनी २०६७ असोज ६ गते ४० लाख ९१ हजार भारतीय नक्कली नोट बरामद भएको घटनामा पनि संलग्न देखिएका थिए।

यो मुद्दामा उनलाई ५ वर्ष कैदको सजाय सुनाइएको थियो। तर यो कैद भुक्तान गरेर छुटेको चार महिनापछि फेरि पक्राउ परे। २०७० असोज १८ गते कैद भुक्तान गरेका उनी त्यही वर्ष माघ १० गते पक्राउ परे। त्यतिबेला ३५ लाख नक्कली भारतीय नोट बरामद भएको थियो।

यसमा पनि सजाय भुक्तान गरेका उनी पछिल्लो पटक २०७६ जेठ १० गतेदेखि थुनामा थिए।

अन्सारीलाई जेलभित्र रहँदा पनि भारतीय गिरोहले हत्याको प्रयास गरेको थियो। २०६७ फागुन २६ गते केन्द्रीय कारागारमै अन्सारीलाई भारतीय सुटर मनमित भटियाले हत्याको प्रयास गरेका थिए।

त्यसपछि उनलाई ललितपुरको नक्खु कारागार सारिएको थियो। उनलाई अहिले पनि थुनाबाहिर राख्दा सुरक्षा चुनौती रहेकाले हिरासतमै राखेर अनुसन्धान गर्नु पर्ने सीआईबीको तर्क छ।

यसअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट युनुस पाकिस्तानीले ल्याइदिएको भारतीय नक्कली नोटको ब्रिफकेस लिन पुगेका थिए। युनुससहित ६ जनालाई प्रहरीले पक्राउ गरेको थियो। पक्राउ पर्नेमा तीन जना पाकिस्तानी नागरिकहरु थिए।

पाकिस्तानी नागरिकहरु नासिर उदिन, नादिया अनवर र मुहम्मद अख्तर समेत पक्राउ परेका थिए। त्यसअघि जेलबाट छुटेपछि युनुस पनि पाकिस्तान पुगेका थिए। उनी पूर्वमन्त्री सलीम मियाँ अन्सारीका छोरा हुन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad