नेपाल पर्यटन बोर्डको आयोजनामा बुद्धिस्ट ट्राभल मार्ट (बीआईटीएम) २०२५ सुरु भएको छ। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री प्रसाद पाण्डेले शुक्रबार काठमाडौंमा मार्टको औपचारिक उद्घाटन गरेका हुन्।
बीआईटीएम(२०२५ उद्घाटन गर्दै मन्त्री पाण्डेले नेपाललाई बौद्ध, आध्यात्म र शान्ति पर्यटनको विश्व केन्द्रको रूपमा स्थापित गरिने विश्वास व्यक्त गरेका छन्।
‘बुद्धको जन्मभूमि लुम्बिनीबाट सुरु भएको शान्तिको सन्देश आज पुनः नेपालबाटै विश्वभर फैलाउने समय आएको छ,’ मन्त्री पाण्डेले भने।
त्यसैगरी मन्त्री पाण्डेले लुम्बिनीलाई ‘अन्तर्राष्ट्रिय शान्ती सहर’का रुपमा विकास गर्ने समेत बताएका छन्।
उनले भने, ‘बुद्धको जन्मस्थल लुम्बिनीलाई अन्तर्राष्ट्रिय शान्ती सहरको रुपमा विकास गर्न सरकार प्रतिबद्ध छ। त्यसैगरी लुम्बिनीमा कपिलवस्तु, रामग्राम, देवदह र तिलौराकोटलगायतका प्रमुख सर्किटमा केन्द्रित हुँदै बौद्ध पर्यटनलाई प्राथमिकता दिइएको छ।’
मन्त्री पाण्डेले बौद्ध पर्यटन प्रवर्द्धनका लागि गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा नियमित उडान र सडक सञ्जालको प्रभावकारी पहुँच स्थापित गर्ने काम भइरहेकोसमेत बताएका छन्।
मन्त्री पाण्डेले थपे, ‘युनेस्कोका प्रतिनिधिसँगको पछिल्लो संवादलाई उल्लेख गर्दै लुम्बिनीलाई जोखिमयुक्त सूचीमा नराख्न आग्रह गरेका छौँ। साथै तिलौराकोटलाई युनेस्कोको सम्भावित सूचीमा समावेश गराउन सरकारले पहल गरिरहेको छ।’
मन्त्री पाण्डेले मुलुक शान्ति र समृद्धिको नयाँ युगतर्फको यात्राको रहेकाले विश्व शान्तिको चाहना राख्नेलाई नेपाल भ्रमण गर्नसमेत आग्रह गरेका छन्।
कार्यक्रममा कोशी प्रदेशका उद्योग, पर्यटन तथा वातावरण मन्त्री सडानन्द मण्डलले पनि शुभकामना मन्तव्य राख्दै प्रदेश सरकारले पर्यटकीय पूर्वाधार विकासमा उच्च प्राथमिकता दिएको बताएका छन्।
बीआईटीएम २०२५ को उद्घाटन समारोहमा बोल्दै नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीले ‘नेपाल एक यात्रा गन्तव्य मात्र होइन नभएर अनुभूति भएको बताएका छन्।
सीईओ जोशीले नेपाललाई आध्यात्मिक र शान्तीको आधारशीला भएको मुलुकको रूपमा प्रस्तुत गर्दै यसप्रकारको अन्तर्राष्ट्रिय कार्यक्रम साझा प्रतिबद्धता र सार्थक सहकार्यको प्रमाण भएको बताएका छन्।
उनले भने, ‘नेपाल यात्रा गन्तव्यमा पुग्ने भौगोलिक पथ मात्रै होइन, यो आत्मा र शान्तिको यात्राको प्रारम्भ हो। यहाँको बौद्ध सम्पदा, ध्यान केन्द्र, सांस्कृतिक विविधता र आत्मिक ऊर्जा विदेशी पाहुनाका लागि सधैं सन्देशवाहक बन्न सक्छन्।’
सीईओ जोशीले बीआईटीएमजस्ता प्लेटफर्महरूलाई अन्तर्राष्ट्रिय साझेदारी, दिगो पर्यटन, र आध्यात्मिक पुनर्जागरणको यात्रा आरम्भ गर्ने अवसरका रूपमा चित्रण गरेका छन्।
उनले थपे, ‘नेपाललाई हामी विश्वको सबैभन्दा प्रामाणिक आध्यात्मिक गन्तव्यका रूपमा प्रस्तुत गर्दैछौँ। बौद्ध सर्किटजस्ता महत्वपूर्ण योजनाहरूले नेपालको पर्यटनलाई अर्थपूर्ण सम्पर्क र दिगो भविष्य तर्फ डोर्याउने छन्।’
कार्यकममा नाटाका अध्यक्ष कुमारमणि थपलियाले शान्ति र अध्यात्म पर्यटनमा बुद्धिस्ट इन्टरनेसनल ट्राभल मार्ट उपयोगी बन्ने विश्वास व्यक्त गरेका छन्। त्यसैगरी नेपाल उद्योग, वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालले यस किसिमका अन्तर्राष्ट्रिय मार्टले नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने बताए।
कार्यक्रममा लुम्बिनी विकास कोषका उपाध्यक्ष डा लार्केल लामाले नेपाल शान्तीको भूमि भएको विषय संसारलाई बुझाउन लागिरहेको बताए। कार्यक्रममा नाटाका वरिष्ठ उपाध्यक्ष जेसवन तुलाधर श्रेष्ठले सहभागीलाई धन्यवाद ज्ञापन गरिन्।
त्यसैगरी बीआईटीएमको उद्घाटन समारोहमा नाटाका पूर्वअध्यक्षहरू सीएन पाण्डे, अच्युत गुरागाईं, रमेश थापालाई मन्त्री पाण्डेले सम्मान गरेका छन्। सोहो अवसरमा नाटा र भारतको इण्डियन एसोसिएसन फर टुर अपरेटर्सबीच पर्यटन प्रबर्द्धन गर्ने समझदारीपत्रमा हस्ताक्षरसमेत भएको छ।
यसका साथै कार्यक्रममा बीआईटीएम विशेष स्मारिका विमोचन गरिएको छ। तीन दिनसम्म चल्ने यस मार्टमा भारत, चीन, बंगलादेश, श्रीलंका, थाइल्याण्ड, म्यानमार, भुटानलगायतका मुलुकबाट सयभन्दा बढी पर्यटन व्यवसायीहरुको सहभागिता रहेको छ।
Shares

प्रतिक्रिया