मंगलबार हेर्दाहेर्दैमा राखिएको राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको निवेदनमा आज पनि सुनुवाइ हुने भएको छ।
पूर्वगृहमन्त्री लामिछाने र छविलाल जोशीले उच्च अदालत बुटवलको आदेश बदर गरी थुनामुक्त गर्न माग गरेको निवेदनमा मंगलबारदेखि सर्वोच्च अदालतमा सुनुवाइ सुरु भएको हो।
मंगलबार लामिछानेका तर्फबाट बहस भएको थियो। बुधबार न्यायाधीश नहकुल सुवेदी संवैधानिक इजलासमा बसेकाले सुनुवाइ स्थगित गरिएको थियो।
तर आज न्यायाधीश सुवेदी र बालकृष्ण ढकालकै इजलासमा यो मुद्दाको सुनुवाइ हुनेछ।
बुटवलको सुप्रिम सहकारी ठगी मुद्दामा रुपन्देही जिल्ला अदालतबाट एक करोड धरौटीमा रिहा भएका लामिछानेलाई उच्च अदालत बुटवलले भने पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको हो।
छविको हकमा भने जिल्लाले नै पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो र उक्त आदेश उच्चबाट पनि सदर भयो।
हाल रवि र छवि दुवै रुपन्देही कारागारमा छन्।
सुरुमा उच्चको आदेश बदर गर्न माग गर्दै सर्वोच्चमा निवेदन दर्ता गराएका रविले पछि बन्दी प्रत्यक्षीकरणको रिट पनि दिएका हुन्।
बन्दी प्रत्यक्षीकरणको रिट परेसँगै दिनदिनै पेसी तोकिए पनि सुनुवाइ भने झण्डै एक महिनापछि मात्रै अगाडि बढेको हो।
बन्दी र अरु निवेदन साथै राखेर हेरिएको छ।
Shares

प्रतिक्रिया