समाज


कञ्चनपुरका ४१ वर्षीय संक्रमितसँगै आएका थिए अन्य १० जना

कञ्चनपुरका ४१ वर्षीय संक्रमितसँगै आएका थिए अन्य १० जना

गोकुल जोशी
चैत २२, २०७६ शनिबार ११:३६,

सुदूरपश्चिम प्रदेशको कैलाली र कञ्चनपुरमा कोरोना भाइरस (कोभिड–१९) का नयाँ तीन जना नयाँ संक्रमित फेला परेका छन्।

भारतको विभिन्न स्थानबाट आएका कैलाली र कञ्चनपुरका दुई पुरुष र एक महिलामा कोरोना भाइरसको संक्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नयाँ भेटिएका संक्रमितहरुमा मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरूष, उत्तराखण्डबाट फर्किएका कञ्चनपुरका ४१ वर्षीय पुरूष र कैलालीकै अर्की ३४ वर्षीया महिला रहेको मन्त्रालयले जनाएको छ।

कञ्चनपुरको बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालिम केन्द्रमा रहेको क्वारेन्टिनमा बसेका ३४ वर्षीय पुरुषलाई कोरोना भाइरसको संक्रमण देखिएको हो। उनी बेदकोट नगरपालिका निवासी हुन्। संक्रमित व्यक्ति भारतको उत्तराखण्डस्थित लुहाघाटमा मजदुरी गरी घर फर्किएका थिए।

उनी नेपाल र भारत दुवैतर्फ देश लकडाउनको अवस्थामा जिल्लाको ब्रह्मदेव नाकाबाट चैत १४ गते भित्रिएका थिए। उनीसँगै आउनेमा बेदकोट नगरपालिककै १० जना अरु पनि छन्। लकडाउनको अवस्थामा ब्रह्मदेव नाका भएर भित्रिएका उनीहरुलाई सशस्त्र प्रहरीले नियन्त्रणमा लिएर चैत १४ गते राति बेदकोट नगरपालिका–९ सुन्दरपुरस्थित कृषि तालिम केन्द्रमा रहेको क्वारेन्टिनमा राखेको थियो।

भारतमा कोरोना भाइरसको संक्रमण देखिएपछि त्यहाँँ मजदुरी गरी आएका उनीहरुको भाइरस परीक्षणका लागि चैत २० गते नमूना लिइएको थियो। लुहाघाटमा मजदुरी गरेर ब्रह्मदेव नाका भएर आएका बेदकोट नगरपालिकाका ती व्यक्तिमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो। उनलाई थप चेकजाँचका लागि शनिबार धनगढी पठाइएको बेदकोट नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख हरिशा पालले जानकारी दिइन्। उनका अनुसार संक्रमितको स्वास्थ्य अवस्था सामान्य छ।

‘कुनै त्यस्तो लक्षण देखिएको थिएन, भारतबाट आएकाले नमूना लिइएको थियो’, उनले भनिन्, ‘आजसम्म पनि कुनै लक्षण देखिएको छैन्।’ संक्रमितसंगै भारतबाट आएका १० जना भने क्वारेन्टिनमै छन्। उनीहरुसहित अहिले बेदकोट नगरपालिका–९ स्थित क्वारेन्टिनमा १७ जना छन्।

कैलालीकी संक्रमित महिला यसअघि कैलालीमा संक्रमित भेटिएका पुरूषको आफन्त भएको बताइएको छ। ‘तीन जना नयाँमा संक्रमण भेटियो। धनगढीमा उपचार गराइरहेका संक्रमितकी भाउजूलाई संक्रमण भएको हो’, स्वास्थ्य मन्त्रालयका विज्ञ सल्लाहकार डा. खेम कार्कीले भने।

कोरोना संक्रमित ३४ वर्षे पुरुषकी भाउजुलाई कोरोना भाईरसको लक्षण देखिएपछि शनिबार बिहान धनगढी हसनपुरको घरबाटै अस्पताल ल्याइएको सेती प्रादेशिक अस्पतालका आकस्मीक विभाग प्रमुख डाक्टर जगदिश जोशीले बताए । हाल उनलाई अस्पतालको आइसोलेसनमा राखिएको छ। योसँगै पहिलो पटक नेपाल भित्रै अर्को व्यक्तिमा कोरोना संक्रमण भएको पनि पुष्टि भएको छ। यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ९ पुगेको छ।

चीनको वुहानजबाट आएका पहिलो कोरोना संक्रमित व्यक्ति भने उपचारपछि निको भएर घर फर्कीसकेका छन्। दोस्रो संक्रमित व्यक्ति काठमाडौंकी १९ वर्षीया युवती हुन्। उनी फ्रान्सबाट दोहा हुँदै कतार एयरवेजको क्यू आर ६५२ जहाजबाट काठमाडौं आएकी थिइन्। उनमा चैत १० गते कोरोना संक्रमण पुष्टि भएपछि सरकारले देशभर लकडाउन घोषणा गरेको थियो। तेस्रो धादिङको, चौथो धनगढीको, पाँचौं बाग्लुङको र छैटौँ पनि बागलुङकै ६५ वर्षीया वृृद्धामा कोरोना संक्रमण पुष्टि भइसकेको छ। उनीहरुको टेकु अस्पताल, धौलागिरी अस्पताल र सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ। 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad