त्रिभुवन विश्वविद्याय, कार्यकारी परिषद्ले २०८० असोज २७ गते एउटा निर्णय गर्यो। निर्णयमा भनिएको थियो,'परीक्षा भएको १०० दिनभित्रै परीक्षाफल प्रकाशन हुनेछ।'
तर उक्त निर्णय कार्यान्वयन नभएको पाइएको छ। २०७९ र ०८० सालका विभिन्न महिनामा सम्पन्न परीक्षाको नतिजा आउन भने कम्तीमा २०४ दिन र बढीमा ४०० दिनसम्म लागेको पाइएको छ। महालेखापरीक्षकको ६२औं प्रतिवेदनले समयमै नतिजा प्रकाशन नगरेको त्रिभुवन विश्व विद्यालयमाथि प्रश्न उठाएको हो।
प्रतिवेदनमा उल्लेख भएअनुसार बीबीएस चौथो वर्षको परीक्षा ०७९ चैत २६ गते सम्पन्न भएको थियो। उक्त परीक्षाको नतिजा २०४ दिनपछि २०८० कात्तिक २० गते प्रकाशन भएको पाइएको छ।
बीए पहिलो वर्षको परीक्षा ०८० वैशाख २१ गते सम्पन्न भएर नतिजा प्रकाशन ३५७ दिनपछि ०८१ वैशाख १३ गते मात्रै भयो।
त्यस्तै बीएड पहिलो वर्षको परीक्षा ०८० वैशाख १३ गते परीक्षा सकिएको थियो। नतिजा भने ३८९ दिनपछि ०८१ वैशाख ८ गते मात्रै सार्वजनिक भयो।
बीबीए पहिलो वर्षको परीक्षा ०८० वैशाख १६ गते सकिएको हो। यसको नतिजा भने ४०० दिनपछि ०८१ जेठ २१ गते सार्वजनिक भएको प्रतिवेदनमा उल्लेख छ।

बीएड तेस्रो वर्षको परीक्षा ०८० साउन ६ गते सकिए पनि नतिजा ०८१ जेठ २६ गते ३५० दिनमा सार्वजनिक भयो।
त्यस्तै बीबीएस तेस्रो वर्षको परीक्षा ०८० साउन ४ गते सम्पन्न भएको थियो। यसको नतिजा भने ०८१ असार २० गते ३४६ दिनमा प्रकाशित भयो।
बीएड दोस्रो वर्षको परीक्षा ०८० भदौ ६ गते सकिए पनि नतिजा ३१४ दिनपछि ०८१ असार २० गते मात्रै प्रकाशित भएको थियो।
महालेखापरीक्षकको प्रतिवेदनमा नतिजा प्रकाशनमा ढिलाइ हुँदा विद्यार्थीको शैक्षिक सत्र तथा रोजगारीका अवसरमा भाग लिन असर पर्ने भएकाले तोकिएको समयमा परीक्षाफल प्रकाशन गर्नुपर्ने उल्लेख छ।
Shares

प्रतिक्रिया