समाज


मौसममा २४ घण्टाका लागि चेतावनी

मौसममा २४ घण्टाका लागि चेतावनी

नेपालखबर
बैशाख ३१, २०८२ बुधबार १९:३८, काठमाडौँ

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ। साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव छ।

जसका कारण यतिबेला (बुधबार बेलुका) कोसी, बागमती र गण्डकी प्रदेश का एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षा भइरहेको छ।

महाशाखाले आगामी २४ घण्टा (बिहीबार साँझ ६ बजेसम्म) का लागि चेतावनी तथा परामर्श जारी गरेको छ। जसमा भनिएको छ: मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका तराईका भूभागलगायत देशका पहाडी भूभागका पनि धेरै स्थानमा अधिकतम तापक्रम बढ्ने सम्भावना छ। साथै कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका  एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ। उक्त मौसमी अवस्थाका कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा सो को असरबाट बच्न आवश्यक तयारी गर्नुहुन तथा आवश्यक सतर्कता अपनाउनहुन अनुरोध छ।  

महाशाखाका अनुसार आज बुधबार  राति र बिहीबार दिउँसो यस्तो छ वर्षा/हिमपातको सम्भावना:

आज राति: कोसी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

बिहीबार दिउँसो: कोसी प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी तथा हिमाली भूभागका ‍एक-दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना छ।

मौसमविद्का अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी पर्नु हल्का वर्षा, १० देखि ५० मिलिमिटरसम्म पानी पर्नु मध्यम वर्षा, ५० देखि माथि १०० मिलिमिटरसम्म पानी पर्नु भारी वर्षा, १०० देखि माथि २०० मिलिमिटरसम्म पानी पर्नु धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि पानी पर्नु अति भारी वर्षा हो।  

यस्तै केही स्थानमा वर्षा भन्नाले सम्बन्धित भूभागको ५० प्रतिशत, थोरै स्थान भन्नाले २५ देखि ३० प्रतिशत र एक-दुई स्थान भन्नाले २५ प्रतिशतभन्दा कम ठाउँमा वर्षा हुन्छ भनेर बुझ्न सकिने मौसमविद् बताउँछन्।  

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad