समाज


रविको बन्दी प्रत्यक्षीकरण निवेदन तेस्रो पटक पनि हेर्न नमिल्नेमा

रविको बन्दी प्रत्यक्षीकरण निवेदन तेस्रो पटक पनि हेर्न नमिल्नेमा

नेपालखबर
बैशाख ३०, २०८२ मंगलबार १४:४, काठमाडौँ

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई गैरकानुनी रुपमा थुनामा राखिएको भन्दै परेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा मंगलबार पनि सुनुवाइ नहुने भएको छ। 

आज न्यायाधीश हरिप्रसाद फुयाल र तिलप्रसाद श्रेष्ठको इजलासमा पेशी तोकिए पनि न्यायाधीश फुयालले हेर्न नमिल्ने भएकाले सुनुवाइ हुन नसकेको हो। 

यसअघि सोमबार न्यायाधीश सुनिल कुमार पोखरेल र बालकृष्ण ढकालको इजलासमा पेशी तोकिए पनि सुनुवाइ हुन सकेको थिएन। 

न्यायाधीश पोखरेलले पनि हेर्न नमिल्ने भएकाले त्यसदिन सुनुवाइ हुन सकेको थिएन। यस्तै वैशाख ८ गते पनि यो निवेदनमा सुनुवाइ भएको थिएन। 

त्यसदिन पनि न्यायाधीश फुयालकै इजलासमा पेशी तोकिएको थियो। तर त्यसको भोलिपल्ट वैशाख ९ मा न्यायाधीश अव्दुल अजीज मुसलमानको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो। त्यसपछि यो निवेदनको अन्तिम किनारा लाग्न सकेको छैन। 

अब बुधबारका लागि पेशी तोकिएको छ। 

सुप्रिम सहकारी ठगीको मुद्दामा लामिछाने रुपन्देही कारागारमा छन्। उनलाई जिल्ला अदालतले एक करोड रुपैयाँ धरोटीमा हिरा गर्न आदेश दिएको थियो। 

तर उक्त आदेश बदर गर्दै उच्च अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो। आदेश लगतै लामिछानेलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले उनलाई निवासबाटै पक्राउ गरेर हिरासतमा राखेको थियो। 

त्यसको भोलिपल्ट रुपन्देही लगेर उनलाई कारागार चलान गरिएको थियो। तर रवि पक्राउ र कारागार चलानको विषयमा प्रस्न उठाउँदै उनकी पत्नी निकिता पौडेलले बन्दी प्रत्येक्षीकरण निवेदन दायर गरेकी छन्। 

रविलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबी गर्दै तत्काल रिहा गर्न माग गरिएको छ। 
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2023 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .
ad ad