कञ्चनपुरस्थित महाकाली नदीमा शुक्रवार एक पुरुषको शव भेटिएको छ। महाकाली नदी माथि निर्माणाधीन चार लेनको पक्की पुल नजिकै शव फेला परेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले जानकारी दिए।
करिब ३० वर्षीय जस्ता देखिने ती पुरुषको शवको सनाखत हुन सकेको छैन्। शव नदीले बगाएर ल्याएको हुन सक्ने आशंका गरिएको छ। ‘पहिचान खुल्ने कुनै सबुत छैन्, प्रहरी टोली अहिले त्यहाँ पुगेको छ,’ उनले भने। शव पोष्टमार्टमका लागि महाकाली अस्पताल ल्याउने तयारी भइरहेको छ।
यस अघि बिहिवार बेलुका भीमदत्त नगरपालिका पिपरियास्थित दोधारा–चाँदनी झोलुङ्गे पुल नजिक पौडी खेल्ने क्रममा एक युवा बेपत्ता भएका छन्। भीमदत्त नगरपालिकाबाट पौडेर चाँदनीतर्फ जान लागेका उनी डुबेर बेपत्ता भएको महाकाली नगरपालिकाका प्रवक्ता दिल बहादुर सिजालीले बताए।
यद्यपी बेपत्ता हुने युवाको पहिचान भने खुल्न सकेको छैन्। लकडाउनका कारण भीमदत्त र महाकाली नगरपालिका आवतजावत गर्ने झोलुङ्गे पुलमा आवत–जावतमा प्रतिबन्ध लगाइएको छ।
पुल भएर आवागमन बन्द भएपछि महाकाली नदी पौडेर चाँदनीतर्फ जानेक्रममा पानीको बहाव बढि हुँदा ती युवा डुबेर बेपत्ता भएको प्रवक्ता सिजालीले बताए। नदी डुबेर बेपत्ता भएकाको खोजीकार्यको भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डिएसपी रविन्द्र पौडेलले बताए।
‘बेपत्ता भएको भन्ने खबर पछि प्रहरीले खोजीकार्य गरिरहेको छ तर अहिलेसम्म भेटिएका छैन्,’ डिएसपी पौडेलले भने, ‘अहिलेसम्म मेरो घरको मानिस हरायो भनेर कुनै परिवारका सदस्य पनि सम्पर्क आएका छैनन्।’
Shares

प्रतिक्रिया