दैनिक कोरोना परीक्षण गर्ने क्रममा आज (बिहीबार) ४० जनाको नतिजा आएको छ।
तीमध्ये एक जनामा कोरोना भाइरसको संक्रमण पाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसमेत गरेर नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ।
यस्तै आजको समेत गरेर नेपालमा कोरोना संक्रमण आशंकामा नमुना परीक्षण गराउने बिरामीको संख्या ११ सय ८५ पुगेको छ।
पहिले काठमाडौंको टेकुस्थित जनस्वास्थ्य प्रयोगशालामा मात्रै कोरोना परीक्षण हुने गरेकामा अहिले देशका अन्य स्थानमा पनि यो सेवा सुरु भएको छ।
यसैक्रममा आज सार्वजनिक कोरोना परीक्षणको नतिजामध्ये ३७ वटा टेकुमा परीक्षण गरिएका हुन् भने बाँकी ३ वटा प्रदेश जनस्वास्थ्य प्रयोगशालामा जाँचिएका हुन्।
आज कोरोना भाइरस देखिएको परीक्षण भने टेकुमा गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
प्रतिक्रिया