ललितपुर महानगर र संखुवासभा जिल्लाको चैनपुर नगरपालिकाबीच भगिनी सम्बन्ध कायम भएको छ।
प्रतिनिधिमण्डलसहित चैनपुर पुगेका ललितपुर महानगर प्रमुख चिरीबाबु महर्जन र चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले भगिनी सम्बन्ध कायम गर्ने समझदारी पत्रमा हस्ताक्षर गरे।
महानगर प्रमुख महर्जन नेतृत्वको टोलीमा प्रवक्ता एवम वडा नं.९का अध्यक्ष राजु महर्जन, वडा नं.१का अध्यक्ष निर्मल तण्डुकार, महानगरका वरिष्ठ अधिकृत सागर थापा, वडा नं.११ का वडा सदस्य जुबन तण्डुकार, वडा नं.१८ सदस्य रुक्मिणी महर्जन रहेका छन्।
संखुवासभा जिल्लाको दक्षिण क्षेत्रमा अवस्थित प्राचीन , ऐतिहासिक प्राकृतिक सुन्दरले भरिपूर्ण केन्द्रको रुपमा चैनपुर नगरपालिका रहेको छ।
११ वटा वडामा विभाजित कोशी प्रदेशमा अवस्थित चैनपुर नगरपालिकामा २०६८ को राष्ट्रिय जनगणना बमोजिम २८ हजार ७४ जनसंख्या रहेको छ।
भगिनी सम्बन्धपछि दुवै पालिकाका असल अभ्यासहरू आदान प्रदान गर्न सहज हुने बताउँदै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले भगिनी सम्बध अत्यन्तै महत्वपूर्ण भएको बताउँदै मितेरी सम्बधले दुःख सुख साटासाट गर्ने बताए ।
चैनपुर नगरपालिकाका प्रमुख कृष्णकुमार तामाङले महानगर प्रमुख आफ्नो प्रतिनिधि मण्डलसहित भगिनी सम्बन्ध कायम गर्नका लागि चैनपुर आउनु भएकोमा खुशी व्यक्त गरे।
कार्यक्रममा खाँदवारी नगरपालिका प्रमुख महेश थपलियाले नेपालकै समृद्ध नगरपालिका ललितपुर महानगरसँग भगिनी सम्बन्ध कायम गर्नु चैनपुरबासीको मात्रै नभई संखुवासभाकै लागि गौरवको विषय भएको बताए।
Shares

प्रतिक्रिया