चैत ४ गते कतार एयरवेजको क्युआर ६५२ विमानबाट नेपाल आएका तीन महिलामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण पुष्टि भएको छ।
फ्रान्सबाट कतार हुँदै सोही विमानमा नेपाल आएकी एक युवतीमा चैत १० गते कोरोनाको संक्रमण पुष्टि भएको थियो, त्यसको पाँच दिनपछि अर्थात चैत १५ गते बागलुङकी अर्की १९ वर्षीया युवतीमा पनि कोरोना संक्रमण भेटिएको थियो। बिहीबार सोही विमानमा आएकी अर्की ६५ वर्षीया वृद्धा महिलाको रिपोर्ट पोजेटिभ भेटिएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ पुगेको छ। यसअघि चीनबाट आएका एक युवामा पहिलाे पटक कोरोनाको संक्रमण देखिएको थियो। उनी स्वस्थ भएर घर फर्केका छन्।
तेस्रो र चौथो संक्रमित चैत ६ गते यूएईबाट एयर अरेबियाको फ्लाइट नम्बर जी ९५३७ मा काठमाडौँ आएका थिए। तीमध्ये धादिङका युवामा चैत १२ गते र अर्का धनगढीका युवामा चैत १४ गते कोरोना संक्रमण पोजेटिभ भेटिएको थियो।
धादिङका युवाको टेकु अस्पताल र धनगढीका युवाको सेती प्रदेशिक अस्पतालको आइसोलेसन वार्डमा राखेर उपचार भइरहेको छ।
त्यस्तै दोस्रो, पाँचौ र छैटौँ गरी तीन महिला भने कतार एयरवेजको क्युआर ६५२ विमान आएका थिए।
यसअघि संक्रमित देखिएका दुई युवतीमध्ये एकको टेकु र अर्कीको धौलागिरी अस्पताल बागलुङमा उपचार भइरहेको छ। नयाँ संक्रमित वृद्धा महिलाका बारेमा भने केही बताइएको छैन।
याे पनि: नेपालमा थप एक जनालाई कोरोना संक्रमण, संक्रमितको संख्या ६ पुग्यो
स्वास्थ्य मन्त्रालयले बिहीबार दिउँसो आयोजना गरेको प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता विकास देवकोटाले थप एक युवतीमा कोरोना संक्रमण भएको पुष्टि गरे।
‘आज एउटा पोजिटिभ देखिएको छ। यसको विस्तृत विवरण आउन बाँकी छ। हाम्रो ट्रेसिङको काम गर्ने टोलीलाई र सम्बन्धित चिकित्सकहरुलाई यो कुरा जानकारी गराइएको छ’, प्रवक्ता डा. देवकोटाले भने, ‘उहाँहरुले केस पोजेटिभ आएपछि गर्नुपर्ने कार्य गर्न थाल्नुभएको छ। यो पोजेटिभ केसबारे अहिलेलाई योभन्दा बढी जानकारी छैन।’
मन्त्रालयले ती महिलामा संक्रमण भेटिएको पुष्टि गरे पनि यता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुका निर्देशक डा. सागरकुमार राजभण्डारीले भने यस विषयमा आफूहरुलाई कुनै जानकारी नभएको बताए।
‘यो केस हाम्रो हैन जस्तो छ’, निर्देशक राजभण्डारीले नेपालखबरसँग भने, ‘हामीलाई अहिलेसम्म केही खबर छैन।’
याे पनि : नेपालमा कोरोना परीक्षण अत्यन्त कम, ७१ दिनमा मात्र ११ सयको जाँच

प्रतिक्रिया